अन्तर्राष्ट्रिय

काेराेना संक्रमणबाट दिल्लीमा एकैदिन ११८ जनाको मृत्यु

काेराेना संक्रमणबाट दिल्लीमा एकैदिन  ११८ जनाको मृत्यु

नयाँदिल्ली: भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकै दिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ। दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कूल ८,१५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या ५,१७,२३८ पुगेको छ। पछिल्लो २४ घण्टामा कूल सङ्क्रमितको सङ्ख्या भने ६,६०८ रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

कूल सङ्क्रमितमध्ये अहिलेसम्म चार लाख ६८,१४३ जना सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये पछिल्लो २४ घण्टामा ८,७७५ जना सङ्क्रमणमुक्त भएका हुन्। भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४०,९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन्।

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२,४२५ जनाको कोरोना परीक्षण गरिएको पनि जानकारी दिएको छ। भारतको दिल्लीमा केही समययता कोरोनाभाइरसको सङ्क्रमण न्यून देखिए पनि अहिले पछिल्लो समयमा फेरि वृद्धि भएको छ।

तीव्र रूपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घरघरमा सर्वेक्षण तथा परीक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीहरूले बताएका छन्। त्यसै गरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरूलाई २,००० रूपैयाँ जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ। यसअघि ५०० रूपैया मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर २,००० रूपैयाँ बनाइएको हो।

त्यसबाहेक अन्य पनि धेरै प्रयासहरू भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।