अन्तर्राष्ट्रिय

काेराेनाकाे नयाँ रेकर्ड : अमेरिकामा एकै दिन थपिए २ लाखभन्दा धेरै संक्रमित

काेराेनाकाे नयाँ रेकर्ड : अमेरिकामा एकै दिन थपिए २ लाखभन्दा धेरै संक्रमित

एजेन्सी: अमेरिकामा गत २४ घण्टाभित्र दुई लाख एक हजार ८३ संक्रमित थपिएका छन्। यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयता एकै दिनमा थपिएका सबैभन्दा धेरै संक्रमित हो। 

यसअघि कुनै दिन पनि नयाँ संक्रमितको संख्या दुई लाख नाघेको थिएन। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ। 

कूल संक्रमितमध्ये ७३ लाख १६ हजार ३२३ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४६ लाख ९८ हजार १२० रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ९५१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ६० हजार २८३ पुगेको छ।

गत २४ घण्टामा विश्वभर ६ लाख ५९ हजार ८६३ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या पाँच करोड ७८ लाख ९५ हजार ८९५ पुगेको छ।

साथै, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टाभित्र मृत्यु हुने ११ हजार ८९ जना रहेका छन्।