शिक्षा

तत्काल खुल्दैनन् काठमाडाैं उपत्यकाका  विद्यालय

तत्काल खुल्दैनन् काठमाडाैं उपत्यकाका  विद्यालय

काठमाडौं: काठमाडाैं उपत्यकाका विद्यालयहरू तत्काल नखुल्ने भएका छन् । उपत्यकामा कोरोना संक्रमण कम नभएकाले तत्काल विद्यालय सञ्चालन नगरिने स्थानिय तहहरूले जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा अझै संक्रमणको जोखिम रहेको बताउँदै भने  ‘देशभरि सबै एक प्रकारको स्थिति छैन, कतिपय ठाउँ कोरोना संक्रमणमुक्त छन्। तर काठमाडौं उपत्यका अझै संक्रमणको हटस्पट नै छ ।’

उपत्यका नगरपालिका फोरमले कार्यढाँचाबारे बृहत् छलफल गरी निर्णय लिने मेयर शाक्यले जनाए । फोरम उपत्यकाका १८ वटा नगरपालिका तथा महानगरपालिकाको छाता संस्था हो । ‘अब हामी शिक्षा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर निर्णय लिन्छौं,’ फोरमका अध्यक्षसमेत रहेका शाक्यले भने ।

सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको जिम्मा दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिमार्जनसहित ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ ल्याएर स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा दिएको हो । विद्यालय पुनः सञ्चालन गर्दा स्थानीय तहभित्र संक्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रमा अवस्थित विद्यालयबाट सुरु गर्ने गरी व्यवस्था गर्न सकिने कार्यढाँचामा उल्लेख छ ।