आर्थिक

३६ अंकले बढ्याे नेप्से, ६ अर्ब ११ करोड रूपैयाँको कारोबार

३६ अंकले बढ्याे नेप्से, ६ अर्ब ११ करोड रूपैयाँको कारोबार

काठमाडौं: सेयर बजारमा अहिलेसम्मकै बढी रकमको कारोबार भएको छ। सेयर बजारमा साताको अन्तिम दिन आज बिहीबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज 'नेप्से'मा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ।

यो अहिलेसम्मकै कीर्तिमानी कारोबार रकम भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज एक करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएको छ।कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा ३६।३२ अंकको सुधार आउने क्रममा कारोबार रकमले रेकर्ड कायम गरेको हो।

एकै दिन ३६ अंकले बढेको परिसूचक एक हजार ७७८ अंकमा पुगेर बन्द भएको छ।

सबै समूहमा हरियाली 

नेप्से परिसूचक र कारोबार नै उत्साहजनक अवस्थामा रहेको दिन आज कारोबार भएका सबै समूहमा सुधार आएको छ। कारोबार भएका १२ समूहमध्ये सबैमा उत्साहजनक सुधार आएको नेप्सेले जानकारी दिएको छ।

आजको बजारमा सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह ३९९ अंकले बढेको छ।

यसपछि, जीवन बीमा ३७६, उत्पादनमूलक २०४, व्यापार १९८ र होटल समूहको उपसूचक १८१ अंकले बढेको छ।