शिक्षा

युरेनियम के हो ? नेपालमा यसको आविष्कारले उर्जाको परिदृष्यलाई कसरी रुपान्तरण गर्ला ?

युरेनियम के हो ? नेपालमा यसको आविष्कारले उर्जाको परिदृष्यलाई कसरी रुपान्तरण गर्ला ?

युरेनियमको आवष्किार सन् १७८९ मा जर्मन बैज्ञानिक मार्टिन हेन्रीच क्लाप्रोथले गरेका थिए । क्लाप्रोथले यस नयाँ धातुको नाम तल्कालै आविष्कार भएको ग्रह यूरेनसबाट राखेका हुन् । विश्व आणविक संघका अनुसार युरेनियम ६.६ अरब बर्ष अधि बनेको हो । युरेनियम सबै भन्दा बढि परमाणु भार भएको रेडियोधर्मी धातु हो । घनत्वको आधारमा ओसमियम (Osmium) सबै भन्दा भार भएको धातु भएता पनि परमाणु भार सबै भन्दा बढि युरेनियमको हुन्छ । लाखौँ वर्षको अवधिभर स्थितरता कायम नगरि निरन्तर टुक्रिदै केहि उर्जा मोचन गरि भिन्न नयाँ धातुमा परिणत हुने भएकाले युरेनियमलाई रोडियोधर्मी धातु भनिएको हो । 

मुख्यतया युरेनियम दुई प्रकारका हुन्छन् । युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाईन्छ र यसको प्रशोधन पश्चात युरेनियम–२३५ बनाईन्छ । युरोपियन न्यूक्लियर सोसाइटीको ] (European Nuclear Society) एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट उर्जा निस्कन्छ तर एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट उर्जा उत्पादन गर्न सकिन्छ । अमेरिकी उर्जा मन्त्रालयको अनुसार एक किलो युरेनियम–२३५ को मुल्य २० करोड ९ लाख अमेरिकी डलर पर्न आउँछ , जुन सुनको भाउ भन्दा झण्डै ४ हजार ५ सय गुणा हो । साधारणतया युरेनियम पृथ्वीको भु–खण्डीय सतहमा फैलावट भएको पाईन्छ । विभिन्न किसिमका चट्टन,बालुवा तथा नदी र सामुन्द्रिक पानीमा पनि यसको केही भाग पाईन्छ । तर कुनै पनि भौगोलिक अध्ययन र अनुसन्धान नगरिएको स्थानमा युरेनियमको उत्खनन् गर्न चुनौतिपूर्ण मानिन्छ । सामान्यतया युरेनियम भु–खण्डिय निक्षेप (Tectonic), लाइमस्टोन (Limestone) निक्षेप, ज्वालामुखीय निक्षेप (Volcanic), ईन्ट्रुसीभ (Intrusive) निक्षेप संचय भएको स्थानमा देखापर्छ । युरेनियमको संचयलाई विभिन्न विधिबाट उत्खनन् गरिन्छ । जसमा खुलापिट (Open Pit), भूमिगत, इन–सिट् लिचिंग र बोरहोल विधि रहेका छन् । न्यून स्तरको युरेनियमले समान्यतया ०.०१ प्रतिशत देखि ०.०२५ प्रतिशत सम्म युरेनियम अक्साईड समेट्छ । संचित स्थानबाट धातु निकाल्न विस्तृत विधि अपनाउनु पर्छ । 

युरेनियम मुख्यतया बिजुली उत्पादनको लागि आणविक शक्ति रिएक्टरहरुमा इन्धनको रुपमा प्रयोग गरिन्छ । विश्वमा लगभग १४ प्रतिशत बिजुली उत्पादन गर्नु बाहेक रोडियो आइसोटोपको उत्पादन मार्फत युरेनिमयको धेरै अन्य प्रयोगहरु रहेका छन् । चिकित्सा  क्षेत्रमा रेडियो आइसोटोपहरु विभिन्न रोगको निदान र अनुसन्धानको लागि प्रयोग गरिन्छ । रेडियो निदान विधिबाट केही रेडियो तत्वहरु इन्जेकशन गरिन्छ र तिनीहरुको मार्ग अवलोकन गरि रोग पत्ता लगाइन्छ । रेडियो थेरापी विधिले क्यान्सर कोषहरु नष्ट गर्न (Ionizing) आयोनाइजिङ विकिरणको प्रयोग गर्दछ । चिकित्सा क्षेत्र मात्र नभइ खाद्यान्न प्रशोधन  उद्योगमा रेडियो  आइसोटेपको मद्दतले परजीविहरु, कीटहरु र ब्याक्टेरियाहरुलाई मार्दछ । साथै औधोगिक क्षेत्रमा पनि रेडियो –आइसोटेपहरु एक्सन्टेमा प्रयोग गरिन्छ । यो प्राविधिक व्यापक रुपमा धातु विज्ञान, अटोमोबाइल, एयरोनेटिक्स (Aeronautics) सुरक्षा र गुणस्तरको निरिक्षणको लागि प्रयोग गरिन्छ । 

हाल विश्वका २० ओटा राज्यमा युरेनियमको उत्खानन् गरिन्छ । विश्व आणविक संघ (World Nuclear Association) को अनुसार सबै भन्दा बढी उत्खनन् गर्ने राज्यहरु क्यानडा, काजकस्थान, अष्टेलिया, नाइजर, रसिया र नामिविया हुन् । नेपालको परिप्रेक्षयमा कुरा गर्नु पर्दा युरोनियम  संचयको बारेमा बढ्दो  क्रममा खोज र अनुसन्धानहरु भइरहेका छन् । सन् २०१४  मा खानी तथा भुगर्भ विभाग ले  गरेको खोजले नेपालको माथिल्लो मुस्ताङ क्षेत्रमा युरेनियम पाइएको जनाएको छ । रेडियोमेट्रिक सर्भे  विधिबाट उक्त युरोनियम  संचय भएको स्थान पत्ता लगाइएको थियो । सक्रिय भु–खण्डिय स्थान तथा सामुन्द्रिक र टेक्टोनिक  निक्षेप  संचित  भएकाले उक्त स्थानमा युरोनियम पाईएको दाबी गर्न सकिन्छ । खानी विभागकै अनुसार  युरेनियम संचय भएको पाइए पनि  के ? र कति ?  परिमाण भने मुल्याङ्कन गर्न नसकिने जनाएको  थियो । नेपालमा हालसम्म युरेनियम उत्खनन् सम्बन्धमा कुनै पनि ठोस ऐन नभएकाले पनि यसको व्यवसायिक उत्खनन् तथा फैलावटको आधारिक कदम भने चालिएको छैन । युरेनियमको सफल आविष्कारले नेपाल जस्तो विकासोन्मुख देशलाई अन्तराष्ट्रिय जगतम उर्जाशील राज्य भनेर चिनाउन मद्दत गर्दछ । 

यहाँको युरोनियमको केही भाग अन्तराष्ट्रिय शान्तिपूर्ण आणविक उद्योगमा योगदान गर्न सकियो भने आउँदो केही दशकमै उर्जाको परिदृष्यमा भिन्नता देख्न पाइन्छ । आणविक उद्योगमात्र नभइ युरेनियमबाट बिजुली उत्पादन गर्न सकियो भने हामी जलविद्युतीय बिजुलीको अन्तराष्ट्रिय बजारमा कारोबार गरेर उल्लेखनिय आर्थिक टेवाबाट लाभान्वित  हुनेछौं । यसो हुनाले देशको समृद्धि कुटनीति  र अन्तराष्ट्रिय  जगतमा छुट्टै पहिचान महशुस गर्न सकिन्छ । वर्तमान परिस्थितीलाई मध्यनजर गर्ने हो भने नेपाल जलस्रोतमा धनी भएकाले विद्युतीय उर्जा उत्पादनमा सक्रिय देखिन्छ । तर युरेनियमको सफल आविष्कारले नेपालको आणविक साथसाथै पेट्रोलियम शक्तिको रुपमा उदय भएको देख्न सकिन्छ । यसले गर्दा राष्ट्र उर्जामा आत्मनिर्भर त हुन्छ नै साथ साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय योजनाहरु सँग सँगै  अघि बढाएर भौगोलिक विकासमा सुदृढिकरण देख्न पाइन्छ । अन्तराष्ट्रिय कारोबारबाट मुनाफामा आएको रकमलाई उचित निकायबाट वैकल्पिक उर्जाको क्षेत्रमा लगानी गर्न सक्यौ भने हामीले स्वदेशमै उर्जाको व्यवसायिकरणमा अब्बल ठहरिनेछौं । अधिकतम लगानी नविकरणीय उर्जा जस्तै बायोग्यास (Biogas), वायु उर्जा (Wind Energy), साथै सौर्य उर्जा (Solar Energy), जियोथर्मल उर्जा (Geothermal) मा लगाउन सक्याैँ भने राष्ट्रको चौतर्फी र समानुपातिक विकास हुन्छ । यस्ता योजनाले स्वरोजगार र दक्ष जनशक्ति उत्पादमा पनि राष्ट्रलाई प्रेरित गर्दछ । वैकल्पिक उर्जाको योजनाहरुलाई अघि बढाए सँगै अन्तराष्ट्रिय मुलुकबाट आयात हुने कच्चा सामाग्री तथा इन्धनको दर घटाएर बिजुली मार्फत चालु हुने उपकरण र यातायातको साधान लाई प्रोत्साहन गर्न सक्छौं । यसो गर्नाले आन्तरिक राजश्वमा वृद्धि साथ साथै वातावरणीय प्रदुषणमा न्यूनिकरण गर्न सकिन्छ । तत्पश्चात हामी उर्जाको विकासपथमा अघिबढ्दै गर्दा अरु निजी तथा सामाजिक पूर्वाधारको विकासमा पनि खुड्किला पार गर्ने निश्चित बाटो खुल्ने छ । 

आर्थिक दृष्टिकोणले युरेनियमको उत्खनन् अत्यन्त अर्थभार पर्ने भएकाले नेपाल जस्तो मुलुकले यहाँको सरकारी निकायको उचित साथ सहयोग र अन्तराष्ट्रिय एजेन्सीको प्राविधिक सहायता जरुरी देखिन्छ । अन्तराष्ट्रिय एटोमिक इनर्जी एजेन्सी (International Atomic Energy Agency) ले नेपाललाई सन् २००८ देखि साथ दिइ रहेको छ  र अव शीध्र अवधिमा नै आणविक अनुसन्धान केन्द्र पनि निर्माण हुने योजना रहेको छ । एक सरकारी अधिकारीका अनुसार युरेनियम नेपाल सरकारको राजनीतिक मुद्दा भएकाले उत्खनन् र व्यवसायिकरणको मामिलामा अत्यन्त सर्तक रहेको बताएका छन् । आशा गरौँ युरेनियमको सफल आविष्कारले नेपाल उर्जामा मात्र परिमार्जित नभएर एक स्थिर  विकासको पाटोमा अघि बढ्दै भौगोलिक अनुसन्धान र यसको चौतर्फी महत्व बुझ्ने छ । 

सन्दीप खनाल

९८६०४७७५१६

khanal16hary@gmail.com

B.Sc Geology 3rd year

Trichandra Campus