राजनीति

रअ प्रमुखको भ्रमणपछि दुई देशबीच वार्ता हुन सक्ने भारतिय विज्ञकाे दावी

रअ प्रमुखको भ्रमणपछि दुई देशबीच वार्ता हुन सक्ने भारतिय विज्ञकाे दावी

काठमाडौं: भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् ।

भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले बताए । उनले भने, ‘यो भ्रमणले दुई देशका वीचमा रहेको विश्वासको संकटलाई पक्कै हटाउनेछ । यो भ्रमणपछि दुई देशका बीचमा सीमा विवादको विषयमा वार्ता पनि हुन सक्छ ।'

उनले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमणपछि दुई पक्षीय सम्बन्ध झन सुदृढ हुँदै जानेसमेत बताए । भारतले राजनीतिक र कूटनीतिक व्यक्तिलाई नपठाएर किन खुफिया एजेन्सीलाई पठायो भन्ने प्रश्नमा उनले भने, ‘यसले के संकेत गर्छ भने भारत नेपालमा आफ्नो बलियो उपस्थिति चाहन्छ । यसमार्फत भारतले चीन र पाकिस्तानलाई उनीहरुले दक्षिण एसियामा चलाएको संयुक्त अप्रेसनले रेड लाइन क्रस नगरोस् भन्ने वार्निङ पनि दिएको छ ।’

नायकले भारत दक्षिण एसियामा एउटा प्रभावशाली शक्ति रहेको र त्यसलाई कायमै गर्न चाहेकोसमेत बताए ।

दुई देशको बीचमा लामो समयदेखि भएको अनौपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बुधबार गोयल नेपाल आएका थिए ।