समाज

नेकपा सचेतक शान्ता चौधरीले कोरोनामुक्त हुँदै भनिन्, ‘मैले पुनर्जीवन पाएँ’

नेकपा सचेतक शान्ता चौधरीले कोरोनामुक्त हुँदै भनिन्, ‘मैले पुनर्जीवन पाएँ’

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेकी छन् । सचेतक चौधरी आफैले सोसल मिडिया फेसबुकमार्फत् (हिजो) शुक्रबार कोरोना रिपोर्ट निगेटिभ आएको जानकारी गराएकी हुन् । 

चौधरीलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यावस्था जटिल बन्दै गएपछि असोज २३ गते आईसीयूमा सारिएको थियो ।

१९ दिनको लामो अस्पताल बसाईपछि उनले कोरोना संक्रमणलाई पराजित गरेकी हुन् । उनले भनेकी छन्, ‘जोगिने कति नै कोशिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो । पूरै १९ दिनको अस्पत्ताल बसाई र त्यसमा पनि अधिकांश समय आईसीयूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिंदैन ।’

पहिलेदेखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले आफूलाई गलाएको उनको भनाइ छ । उनले भनेकी छन्, ‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ, भन्ने सुनिरहेकीले पनि बाँच्छु जस्तै लागेको थिएन । यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु । आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।’

वीर अस्पत्तालका अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस भएको पनि उनले बताएकी छन् ।