खेल

आईपीएल २०२० : चेन्नईलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा पुग्यो मुम्बई

आईपीएल २०२० : चेन्नईलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा पुग्यो मुम्बई

एजेन्सी, ८ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ४१ औं खेलमा शुक्रबार राति महेन्द्र सिंह धोनीको अगुवाईमा चेन्नई सुपर किंग्स (सीएसके)ले मुम्बई इन्डियन्स (एमआई)को आगाडि पूर्ण रुपमा सरेन्डर गरेको छ । योसँगै चेन्नई आईपीएलको १३ औं सिजनको इतिहासमै पहिलो पटक प्ले अफको रेसबाट बाहिरिन सक्नेछ ।

चेन्नई ‘गर या मार’को अभियानमा थियो । तर, चेन्नईले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेन । शारजाहमा मुम्बईले चेन्नईलाई ११४/९ रनमा रोकिदियो र जितको सहज लक्ष्य १२.२ ओभरमा विकेट नगुमाइकन (११६/०) हाँसिल गरेर १० विकेटले मात दियो ।

आईपीएलसको इतिहासमै चेन्नई पहिलो पटक १० विकेटले हारेको हो । जारी आईपीएलमा चेन्नई सुपर किंग्सको कहानी परिवर्तन हुन सकेन । उसले थप एक हारको समना गर्नु परेको छ । यो उनको ८ औं हार रह्यो र अंक तालिकाको अन्तिम स्थानमा रहेर आफ्नो प्रसंशकहरुलाई गहिरो झट्का दिएको छ ।

अर्को तर्फ मुम्बई इन्डियन्सले ७ औं जित हाँसिल गरेको छ । १० खेलमा १४ अंकको साथमा मुम्बई टपमा पुगेको छ । दिल्ली क्यापिटल्सको पनि १० खेलमा १४ अंक रहेको छ, तर उत्कृष्ट रन रेटको आधारमा मुम्बई शीर्ष स्थानमा रहेको छ ।