स्वास्थ्य

काेराेना संक्रमणबाट बीपी प्रतिष्ठानमा उपचाररत थप तीन जनाकाे मृत्यु

काेराेना संक्रमणबाट बीपी प्रतिष्ठानमा उपचाररत थप तीन जनाकाे मृत्यु

सुनसरी:  काेराेना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् ।

उनीहरु तीनै जनाको मृत्यु सोमबारै भए पनि प्रतिष्ठानको कोभिड अस्पतालले म‌ंगलबार बिहान मात्र सार्वजनिक गरेको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसै गरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट असोज २८ गते पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भए पनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएको थियो । कोरोना पुष्टि भएको तीन दिनपछि मात्र उनले कोभिड अस्पतालमा बेड पाएका थिए ।