समाज

दशैंमा घर जानेलाई पीसीआर रिपोर्ट अनिवार्य, नभए १४ दिन क्वारेन्टाइन

दशैंमा घर जानेलाई पीसीआर रिपोर्ट अनिवार्य, नभए १४ दिन क्वारेन्टाइन

काठमाडाैं: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गत बुधबार एक आदेश जारी गर्यो। आदेशमा भनिएको छ, ‘जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाउँन हार्दिक अनुरोध गर्दै कार्तिक १ गतेबाट उच्च जोखिम रहेका स्थानहरुबाट यस जिल्लामा प्रवेश गर्दा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट साथ प्रवेश गर्न जानकारी गराइन्छ।’

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नवराज बरालले काठमाडौं उपत्यका, प्रदेश २, भारत र तेस्रो मुलुकबाट जिल्ला प्रवेश गर्नेहरुका हकमा ७२ घण्टे पीसीआर रिपोर्ट हेर्ने सर्वदलीय सन्यन्त्रले निर्णय गरेको बताए।

‘एकदमै प्रभावित क्षेत्रबाट आउनेहरुको रिपोर्ट हामीले नाकामा परीक्षण गर्नेछौं। उहाँहरुसँग रिपोर्ट नभएको अवस्थामा तोकिएको स्थानमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ,’ बरालले भने, ‘राजमार्गमा भने कुनै रोकतोक छैन। तर, त्यहाँ सवारीमा स्वास्थ्य सावधानी अपनाएको, नअपनाएको हामी हेर्छौँ।’

तराई लगातका जिल्लामा बढ्दो संक्रमण र उपत्यकामा संक्रमण कम भएको बेला यस्तै आदेश केही समय अघि उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुले दिने गरेका थिए। उनीहरुले उपत्यका छिर्नका लागि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरेका थिए। परीक्षण नगराई बाहिरबाट आएका मानिसहरुलाई घरबेटी घर प्रवेश दिएका थिएनन्। सोही कारण प्रयोगशालाहरुमा परीक्षण गराउनेको भीड बढ्दो थियो।

तर, अहिले दशैँ, तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गर्दा मानिसहरु काठमाडौं उपत्यका लगायत शहरहरुबाट गाउँ फर्कने क्रम बढ्दो छ। ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार दैनिक २५ हजार बढीले सडकमार्गबाट मात्रै उपत्यका छाड्ने गरेका छन्।

अहिले मुख्य रुपमा कोरोनाको हटस्पट देखिएको उपत्यकाबाट आउनेलाई विभिन्न जिल्ला तथा स्थानीय तहले पीसीआर रिपोर्ट अनिवार्य गरेका छन। स्याङ्जालगायत देशका एक दर्जन जिल्ला, स्थानहरुमा प्रवेशका लागि पीसीआर रिपोर्ट माग्ने गरिएको छ।

यस्तै लामो समयदेखि कोरोना संक्रमित संख्या शून्य रहेको हुम्ला जिल्लामा हवाई र स्थल दुबै मार्गबाट हुदै जिल्ला भित्रिनेले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने नियम जारी गरेको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो।

केही स्थानीय निकाले हवाई यातायातबाट आउनेलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरेका छन्। हुम्लासँगै, लुक्ला, डोल्पा, जुम्ला, रारामा हवाईमार्फत यात्रा गर्नेका लागि अहिले पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा उडान भर्ने सबै एयरलाइन्सलाई पत्र नै लेखेर पीसीआर रिपोर्ट नेगेटिभ सुनिश्चित गरेरमात्रै उडान गर्न गराउन निर्देशन दिएको छ।

यता तनहुँ जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय भन्दै १० दिन दसैँ मनाउँन आएकालाई पनि १४ दिन क्वारेन्टिन बस्नैपर्ने निर्देशन जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्रांगत बरालले गाउँ आउन पीसीआर अनिवार्य नगरे पनि आफ्नो र सामाजको सुरक्षाका लागि पनि १४ दिन क्वारेन्टिन बस्नैपर्ने बताए।

‘पीसीआर रिपोर्ट नभए पनि गाउँ आउन हामीले रोकेका छैनौं तर बाहिरबाट आएपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा भने बस्नुपर्छ। बसे नबसेको हेर्न हामीले टोलटोलमा समिति बनाएका छौं,’ बरालले भने।