मनोरञ्जन

अलौकिक प्रेमीललोक

अलौकिक प्रेमीललोक

विचलन हुँदा प्रकृति अनि प्राकृतिक मनसँग विचरण गर्ने क्रममा फेला परेकाहरुको विराट समकक्षताको एउटा सानो अंश प्रस्तुत गर्नु वान्छनिय लाग्यो यो मिश्रित संसारमा । बाहिरबाट हेर्दा लाग्न सक्छ संसार अनि सांसारिक चहलपहल अनि विचलन एउटा दुनियाँ हो तर संसार बाहिरको पनि एउटा छुट्टै दुनियाँ छ । जसको साक्षी केवल व्यस्त अनि बेमतलबी बन्दै गएको सर्वश्रेष्ठ कहलाइने प्राणी बाहेक पनि गन्ती छ भन्ने सानो अस्तित्व अनि त्यसले पारेको विराट प्रभावको स्वमूल्यांकनको प्रस्तुतिकरण जरुरी लाग्यो । 

आफ्नै कारणले काम गर्दा उर्जा हराएको जस्तो , व्यवस्तताको प्रतीक जस्तो भान हुने तर यथार्थमा सारमै अलमलिनेहरु वीचको फरकपनको अनुभूतिसँग गाँसिएको भान मात्र होइन बानी बनिसकेको थियो । हावामा गोरेटो अनि प्रकृतिको काखमा वास बनाउने दुई थान प्राणी । कहिलेकाही सार्वनामिकतामा मिठास ज्यादा देख्ने गर्छु म । र त आज सर्वनाममै शब्द गाँस्ने चेस्टा गर्दैछु । 

जीवन जस्तो भएपनि उर्जाशिल बन्नुपर्छ भन्ने एउटा सोचले जरा गाडेको मन अनि सो सँगै दुनियाँसँग मिसिनु पर्ने कर्तव्यपरायणता । उसले या कसैले महानतम् सोचून या ज्यादा उदारवादी , मलाई हरपल त्यो कदम अनि पाइला केवल आगन्तुक अनि अनुयायीप्रतिको सहभाव मात्र प्रतित हुन्थ्यो । 

मानव समाज सामाजिक सञ्जाल , इन्टरनेटमा रमाइरहेको बेला प्रविधिले असर नपरेको कहाँ हो र  उनीहरुलाई ? जसलाई हेर्दा पनि घोप्टे युगमा आफ्नै स्क्रिनमा व्यस्त अनि अभ्यस्त देखिने भिड । तसर्थ , त्यसबाट भाग्नु भन्दा त्यससँगै जीउने चाहना अनि बाध्यता पनि । 

नयाँ ठाउँमा घुम्दै फिर्दै आउँदाको पल । ढिलो चाँडोको कुरा मात्र हो, गन्तव्य एउटै पर्न जाँदा मिलन अवश्य हुन्छ ।  यसर्थ , अलि पूरानो अलि धेरै जानकार हुनु स्वभाविक हो ।  र त नव आगन्तुकलाई नयाँ वातावरण , छर छिमेक, माहोलको जानकारी गराउनु उसको कर्तव्य हुन आउँछ । त्यसमाथि गरेको विश्वास , अनि परेको भरको तुषारापात गर्नु भनेको मूर्खता सिवाय अरु केही होइन भन्ने नीतिगत संस्कार जो साथमा छ । 

हरेकको हो भन्दैमा हिस्सा कहाँ लाग्छ र ? देश सबैको साझा हो भन्दैमा हरेकले जहाँ पायो त्यहाँको जमिन , सम्पति आफ्नो भन्दै उपभोग गर्न पाइदैन । यस्तो सोच पाल्नाले मानवसमाजको कुरुपताको उदाङ्गो परावर्तित हुँदै आएको प्रतित हुन्छ ।

असामाजिक दुनियाँभित्रका सामाजिक प्राणीद्धय । तसर्थ , पाइला पिच्छे पुगाउनुपर्ने होस , गर्नुपर्ने विचार अनि कुर्नुपर्ने नतिजा । हरेक दिन , अब के हुन्छ , भन्ने खुलदुलीवीच पनि  मिलेर गरेको संघर्ष अनि त्यसमा पाएको आंशिक सफलताले मात्र पनि अतुलनिय खुसीको हिस्सेदार बनिँदो रहेछ । 

एक निश्चित चक्र पश्चात औँशी आउँदा टुकी वा झिल्कोको साहरा , पूर्ण चन्द्र आउँदा त्यसकै झलमल्ल उज्यालोले हरेक रातको अन्धकार मेटाउने प्रयास सधैँ जारी रहन्थ्यो अनि त्यसले दिने उर्जा र सफल हुँदाको खुसीलाई कसरी भुल्न सकिन्छ र ?

विययकुमारको मदन पुरस्कारीय कृति खुसीको मिठास अनि सादापनको माधुर्यमा लिप्त म । खुसीको परिभाषा छैन म सँग र त दाँज्ने तुलाको जरुरत पनि परेन कहिल्यै ।  दुनियाँमा आणविक सिद्धान्त लागु हुन्छ हरेक ठाउँमा । ऋणात्मक चार्ज इलेक्ट्रोनले घेरेको छ हरेक खुसीलाई । समयमा त्यो खुसी , सुनौलो साथ अनि सहकार्य एकाकार बनेर प्रकट हुँदा, हरेक पीडा भुल्दा जीवन्त पल बन्दै..धनात्मकतामा सामेल हुने चाहना अनि दैनिकीको आफ्नै महत्व छ  जीवनमा । 

कहिले सहजै उपलब्ध अनि कहिले ठूलो संघर्ष पश्चात पाइने खानेकुराको आदानप्रदान अनि खानेकरासँगै कुराको आदानप्रदानले एकअर्काको निकटता , स्निग्ध स्नेहलाई थप उर्जा प्रदान गर्ने गर्छ । कर्म फरक भएपनि कर्मक्षेत्र एउटै , अतः भोगाइ अनि रोजाइ एउटै । असन्तुलनवीचको सन्तुलन नै परिस्थितिवीच मनस्थिति निर्माणको आधार रहेछ ।

दैनिकीसँग भुल्दा पर्ने अक्सर एउटै रुखको छत्रछायाँ जहाँ कर्तव्य भुल्दै पन्छाउँदै एक अर्कामा हराउने नित्य जस्तो एकाकार बानी । साथको निन्द्रा पछि रातको सुताई अनि जाग्दा आँखाले याद जगाउने उठाईसँगको अनन्योयाश्रित सुकोमल सम्बन्धवीचको दिनचर्या । 

आफ्नो भन्दा उसको बढी चिन्ता..हुनुमा नव—प्रवेशी तथा अपरिपक्वताको तत्वबोध भएको पक्कै हुनुपर्छ । अतः ध्याउन जो हुने गर्छ , उसको काम , कर्तव्य अनि वातावरणीय प्रभावमा सदा । संसार महामारीले प्रभावित हुँदा , थला पर्दा त्यसले पारेको विचलनमा पाएको उसको न्यानोपन , साथ अनि सद्भाव र स्नेह , लाग्थ्यो सारा चिज ठप्प भैरहँदा आफ्नै संचारको डोरी पनि चुँडिएको भए.....भाग्यवादमा विश्वास गर्ने हो भने निर्धक्क भन्न सक्छु त्यसो हुन पाएन , साथ झन दरिलो बन्यो । 

समय अनि उड्ने बाटो एउटै हुँदा उड्न सकिने बाटोलाई पनि हिँडेर समय कटाउन अभ्यस्त दुई जीवको जीवन जहाँ अन्य जीवले भरिपूर्ण भएता पनि निर्जन लाग्ने वन अनि बटुवाहरुलाई बेपर्वाह पारिन्थ्यो मार्गमा । अस्थायी जीवन अनि अस्थायी भविष्यको स्थायी गहना माया , प्रेम अनि सद्भाव हुन किनकी यिनीहरु कुनै निश्चित कालिक हुदैनन् अर्थात सर्वकालिक रहन्छन् ।

वर्षौदेखीको चिनजान भएकाहरु सँगसत्यता थाह पाएपछिको औपचारिकतामा सीमित सम्बन्ध अनि महिना मात्र भएको चिनजानको गहिरोपन । फरक छ नि है ।  हो, महिना महिना मिलेर वर्ष बन्छ , तर यो केवल अंक सावित हुन पुगेको नापतौलको वर्गीकरण मात्र हो । समयले मात्र परिपक्वता अनि सम्बन्धको गहिराईपनको बोध र मापन गर्न नसकिँदो रहेछ ।

कहिले काहीँ मानव परिवेश अनि समाजलाई पनि अगाँल्दा गरिने जमघट , भोज भतेरको आयोजना गर्दा गरिने चनाखोपनको आफ्नै बाध्यता छ । लाग्छ , कुरा काट्ने , कुरा बनाउने अनि कुरामै कुर्नेहरुको कमी कतै पनि रहेनछ । अतः गोपनियताले अर्थ राख्न थाल्यो यस्ता मन मिल्नेहरु मात्र सामेल शालिन समारोहमा पनि ।

छेउमा नभेट्दा नजिकैको पोखरीको कञ्चन पानीलाई ऐना बनाउँदै आफ्नो आकृतिमा उसलाई पाउने अभिलाषा । अनि छिट्टै नै छेउमै पाउने आशा । नजिक हुँदा सामान्य लाग्ने त्यही चिज वस्तु अलि टाढा अनि लामो समय सम्म भौतिक रुपमा टाढिदा अभाव खड्किँदो रहेछ । कारण प्रष्ट छ र यस्तो छ , कुनै संगीत नचाहिने धुन मिश्रित उसको स्वर , कुनै गहना नचाहिने मुस्कान मिश्रित उसको मुहार अनि कुनै अपेक्षा नचाहिने स्नेह मिश्रित उसको व्यवहार ।

आफूलाई सतही एवम् बाहिरी देखावटी आवरणले छोपेर बसेका हिंस्रक जीवबाट जोगाउने , टाढा राख्ने हरेक पाइलैपिच्छेको ध्याउन्न । आफू कति सुरक्षित छु , त्यो आभाष न आवश्यक लाग्यो न अनुबन्धित हुन मन नै । केवल सुनसान अनि भिडवीचको एकान्तबाट अलग राख्ने प्रयास मात्र रहन्थ्यो । 

माथि उडेर पंख फिँजाई खुला गगनमा बन्धनमक्त भई सपनाको उडान भर्दै कावा खेलेको हेर्ने अभिष्ट इच्छा । जब पहिले गन्दै नगन्ने अरुहरु हेरेको हे¥यै बनूँन , उसको छनोट देखेर छक्क परुन् अनि डाहले भरिएको मन बोक्दै जिब्रो टोकुन् । अनि म मन्द मुस्कान सहित उसको सफलताको उत्सव सगौरव मनाउँदै बसेको त्यो मीठो पल । त्यो मीठो प्रेमील पर्खाई । कारण त्यहाँ छ निश्वार्थ तवरले गरिने हृदयको आवेश जसमा कुनै सर्त छैन  , एउटा unconditional love एउटा निशर्त माया ।