खेल

आईपीएल २०२० : मुम्बईले कोलकातालाई ८ विकेटले हरायो

आईपीएल २०२० : मुम्बईले कोलकातालाई ८ विकेटले हरायो

एजेन्सी, १ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ३२ औं खेल मुम्बई इन्डियन्स (एमआई)ले जितेको छ । शुक्रबार राति अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्सले नयाँ कप्तान इयोन मार्गनको साथमा उत्रिएको कोलकाता नाइट राइडर्स (केकेआर)को टिमलाई ८ विकेटले पराजित गरेको हो । 

मुम्बईले १६.५ ओभरमा १४९/२ रन बनाएर आफ्नो लक्ष्यलाई हाँसिल गरेको हो । मुम्बईको जितमा विकेटकिपर ब्याट्सम्यान क्विन्टन डिकाँकले महत्वपूर्ण योगदान दिए । डिकाँकले नटआउट ७८ रन (४४ बलमा)को पारी खेले ।

योसँगै मुम्बईले लगातार पाँचौं जित हाँसिल गरेको छ । मुम्बईको टिमले यसै सिजनमा कोलकाताको विरुद्धमा दोस्रो खेल पनि जितिसकेको छ । मुम्बईको यो आठौं खेल थियो । जसमध्ये ६ खेल जितेर १२ अंक हाँसिल गरेर उत्कृष्ट नेट रन रेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । 

योसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । यता कोलकाता नाइट राइडर्सको पनि यो आठौं म्याच थियो । यो उनको चौथो हार हो । यो हारसँगै कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहेको छ ।

१४९ रनको लक्ष्यलाई पछ्याएको मुम्बईको रोहित शर्मा र क्विन्टन डिकाँकले उत्कृष्ट सुरुवाती दिए । उनीहरु दुवैले १०.३ ओभरमा ९४ रन जोडे । रोहितले ३५ रन बनाए । उनका विकेट शिवम मावीलाई मिल्यो । 

त्यसपछि १११ स्कोरमा सूर्यकुमार यादव (१०)को विकेट  खस्यो, जसलाई बरुण चक्रवर्तीले फर्काए । डिकाँकले (नटआउट ७८) र हार्दिक पांड्या (नटआउट २१)ले टिमलाई जितको शिखरमा पु-याए ।