शिक्षा

लाेकसेवा आयोगका कर्मचारीमा काेराेना देखिएपछि परीक्षा प्रभावित हुन सक्ने

लाेकसेवा आयोगका कर्मचारीमा काेराेना देखिएपछि परीक्षा प्रभावित हुन सक्ने

काठमाडौं:  लाेकसेवा आयोगका कर्मचारीमा काेराेना संक्रमण देखिएपछि  आगामी मंसिर र पुसमा हुने भनिएकाे परिक्षा प्रभावित हुन सक्ने भएकाे छ ।  कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि आयोगका तीन महत्त्वपूर्ण शाखा बन्द गराइएका छन् ।

लोकसेवा आयोगले आगामी मंसिर र पुसमा लिने भनिएको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । ती शाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेकाले परीक्षा प्रभावित हुन सक्ने आयोग स्रोतले जनाएकाे हाे ।

विज्ञापन प्रकाशन, प्राविधिक र अप्राविधिकतर्फको लिखित नतिजा प्रकाशन शाखाहरू बन्द गरिएको छ । ‘केही कर्मचारीलाई संक्रमण देखिएपछि सँगै काम गर्ने कर्मचारी क्वारेन्टाइनमा रहनुभएको छ । यी तीन शाखा दसैंअघि खुल्ने सम्भावना छैन,’ स्रोतले भन्यो, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरूमा समेत संक्रमण देखिए परीक्षाको तयारी अझै प्रभावित हुन सक्छ ।’ अब हुने भनिएका परीक्षा प्रभावित भए हालै आयोगले निकालेको विज्ञापन पनि प्रभावित भई परीक्षा तालिका पछाडि धकेलिनेछ ।

सहकर्मीलाई संक्रमण देखिएपछि शुक्रबारसम्म केन्द्रिय कार्यालयका करिब २० जनाभन्दा बढी कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीबारे पत्राचारमा खटिने कर्मचारीलाई सुरुमा संक्रमण देखिएको थियो । अहिले चार जनामा संक्रमण देखिएको आयोगस्रोतले बतायो । आयोगले केही दिनमै उपसचिवको नतिजा निकाल्ने तयारी गरेकोमा त्यो पनि पछाडि सर्ने भएको छ ।

लोकसेवा आयोगले गत चैतमा लकडाउनपछि रोकिएका परीक्षा फेरि सुरु गर्ने तयारी गरेको थियो । लोकसेवाले गत १९ र २२ गते सूचना निकालेर प्राविधिक अधिकृतको परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

त्यसै गरी आयोगले नासु र खरिदारको परीक्षा तालिका पनि प्रकाशित गरेको थियो ।