राजनीति

प्रचण्डले किन बाेलाए ओली पक्षका नेताहरुलाई खुमलटार ?

प्रचण्डले किन बाेलाए ओली पक्षका नेताहरुलाई खुमलटार ?

काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रशाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अर्का अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग पनि भेटेर कर्णालीमा विकसित परिस्थितिबारे सुनेका छन्।

यसअघि हिजो प्रचण्डसहित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कर्णालीका नेताहरुलाई खुमालटारमै बोलाएर उनीहरुलाई सुनेका थिए।

बिहीबार बिहान प्रचण्डले नेकपा कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कँडेल र हालै मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतकबाट निलम्बवित गुलावजंग शाहलाई बोलाएर उनीहरुको गुनासो सुनेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

भेटका क्रममा प्रचण्डले ‘तपाईँहरुका कुरा मैले सुने। अब एक पटक अर्का अध्यक्षलाई पनि भेट्नुहोस्। अब उनीहरुलाई भेटका लागि सम्भवत बालुवाटार बोलाइने छ। त्यसपछि फेरि सल्लाह होला’ भन्ने प्रतिक्रिया दिएको बुझिएको छ।

तर प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसहित विवादमा मुछिएका दुवै पक्षबीच हुने भनिएको छलफल अझै अन्यौलमा छ।

आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्षलाई मंगलबार ओली र दाहालले त्यहाँ उत्पन्न समस्या यथावत राखी बिहीबारभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएका थिए।

तर बिहीबार प्रचण्डले आफ्ना र नेता नेपाल पक्षका नेताहरुलाई मात्रै भेटेपछि पुन गुटभेला सुरुवात गरेको भन्ने आरोप ओलीपक्षका नेताहरुले लगाएका थिए।