समाज

सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए । 

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन् । न्यायाधीश डा शर्माको एकल इजलास मात्र सञ्चालनमा छ । 

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेको जनाइएको छ ।