सप्तरीमा थप एक कोरोना संक्रमितकाे मृत्यु

सप्तरीमा थप एक कोरोना संक्रमितकाे मृत्यु

राजविराज, १० असाेज। सप्तरीमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको हाे ।

पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी राजविराजमा उपप्राध्यापक पदमा रही प्रध्यापन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरिएको थियो ।

उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको उनको उपचार त्यहा सम्भव नभएपछि बिपि कोरोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएकोमा निजको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएकोमा शनिबार बिहान २ः३० बजेतिर उनको निधन भएको परिवारजनले बताएका छन् ।

पूर्वमन्त्री पुत्र समेत रहेका उनको सरकारले तोकेको सुरक्षा र स्वास्थ्य मापदण्ड अपनाएर शनिबारै अन्त्येष्टि गरिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगि पदमा कार्यरत ६० वर्षीय पुरुष तथा शुक्रबार राजविराज ७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यस्तै शनिबारसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमितको संख्या बढ्नुका साथै लगातार संक्रमितको मृत्यु हुन थालेपछि स्थानियमा अझै त्रास थपिएको छ ।