बुटवल कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

बुटवल । यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ । 

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३:४५ बजे मृत्यु भएको हो ।

 
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले  उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिए ।  

उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।