मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा जुटे ओली–प्रचण्ड

मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा जुटे ओली–प्रचण्ड

काठमाडौं, ९ असाेज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा जुटेका छन् ।

त्यसका लागि दुई नेता लगातारभेटवार्ता र संवादमा जुटेका छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् ।

दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । उनले भने, ‘आजको छलफलपछि उहाँहरु टुङ्गोमा पुग्ने सम्भावना छ ।’

बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।

मन्त्रिमण्डल पुनगर्ठनबारे दुई अध्यक्षबीचमा बिहीबारबाट औपचारिक रुपमा छलफलको सुरुवात भएको र छिट्टै यसबारे ठोस निर्णयमा पुग्ने  प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने । 

यसअघि गत आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवाश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गर्न प्रस्ताव गरिएको थियो । जसमा विभिन्न तीन विकल्पमा छलफल भएपनि कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।

सचिवालयले निर्णय नगरेपछि उचित मापदण्ड तय गरेर त्यसैका आधारमा मन्त्रिमण्डल हेरफेर गर्न नेताहरु सहमत हुदै दुवै अध्यक्षलाई जिम्मेवारी दिएका थिए ।