काठमाडाैं उपत्यकामा फेरी निषेधाज्ञा गर्न माग

काठमाडाैं उपत्यकामा फेरी निषेधाज्ञा गर्न माग

काठमाडौं, ९ असाेज । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले काठमाडाैं उपत्यकामा पहिलेजस्तै गरि निषेधाज्ञा बढाउनु पर्ने बताएका छन् ।उनले निशेधज्ञा जारी गरी सार्वजनिक यातायात सञ्चालनमा पुन राेक लगाइ, अन्य सवारी साधनमा पनि जोर विजोर लागु गर्नुपर्ने बताएका हुन् ।

‘अहिले कोरोनाको परीक्षणदर पनि घटाएको छ, नेपालभर गरेर परीक्षणदर औसत ९ हजार छ । यदि परीक्षणदर बढाउने हो भने उपत्यकामा दोब्बर संख्यामा संक्रमित फेला पर्न सक्छन्, मेयर श्रेष्ठले भने,  '२५ हजार सक्रिय संक्रमित कहिले पुग्ला र लकडाउन गरौँला भन्ने भन्दा पनि उपत्यकामा चाँहि पहिलेजस्तै निषेधाज्ञालाई बढाउनुपर्छ । सार्वजनिक यातायात तत्काल नचलाऔं, अन्य सवारी साधन पनि जोर विजोरका आधारमा चलाऔं ।’

उपत्यकामा २१ देखि ३० वर्षका युवाहरुमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ । उनीहरुबाट घरमा रहेका ६० वर्षभन्दा माथिका व्यक्तिमा सर्ने र उनीहरुको मृत्यु हुने क्रम बढिरहेकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने मेयर श्रेष्ठको भनाइ छ ।

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि काेराेनाबाट अछुताे रहन सकेनन् । अहिले उनी काेराेनामुक्त भइसकेका छन् भने उपत्यकाका दुई नगरपालिकामा मेयर संक्रमित भएर आइसोलेशनमा बसेका छन् ।

महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र तारकेश्वर नगरपालिका काठमाडौंका मेयर मोहनबहादुर बस्नेत आइसोलेशनमा छन् ।