दाउन्नेकाे भिरबाट ३० फिट तल खस्याे बस, १ जनाकाे मृत्यु, ६ घाइते

दाउन्नेकाे भिरबाट ३० फिट तल खस्याे बस, १ जनाकाे मृत्यु, ६ घाइते

कावासाेती, ९ असाेज । नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरोले बस सडकबाट खसेको हो। 

सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो। गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नम्बरको बस पहिरोमा परेको हो । 

पहिरोले बस सडकबाट करिब ३० फिट तल खसेको थियो । बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । ​