आफ्नै काम गरेको पैसा लिन चार दिनदेखि सत्याग्रहमा पत्रकार

आफ्नै काम गरेको पैसा लिन चार दिनदेखि सत्याग्रहमा पत्रकार

काठमाडौं, ८ असाेज । नागरिक दैनिकका पत्रकार सुवीद गुरागाईं चार दिनदेखि सत्याग्रहमा बसेका छन् । गुरागाईं नागरिक दैनिकमा कार्यरत पत्रकारको पुरानो बाँकी बक्यौता चुक्ता गरी नियमितरुपमा मासिक पारिश्रमिक दिनुपर्ने माग राख्दै असोज ५ देखि पाँचदिने सत्याग्रहमा बसेका हुन् ।

१५ दिनभित्र सबै पत्रकारको रकम भुक्तानी नगरे आमरण अनशनमा बस्ने उनले बताए। गुरागाईंलाई समर्थन गर्दै नागरिककै पत्रकारहरु अमृत भादगाउँले, उत्तम ओझा, सनत सापकोटा, डुक्पा छिरिङ मोक्तान र श्याम राई पनि धर्नामा बसेका छन् ।

नागरिकले तीन महिनादेखिको तलब नदिएका कारण आफू पाँचदिने सरुत्याग्रहमा बसेको पत्रकार गुरागाईंले बताए ।

उनीहरुले सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने, पुरानो बाँकी बक्यौता चुक्ता गरी मासिक पारिश्रमिक दिनुपर्ने, श्रमजिवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, कोरोनाको बहानामा श्रमजिवीलाई दुःख दिन नहुने र छ महिना परीक्षणकाल पूरा गरेकालाई अनिवार्य स्थायी नियुक्ति पत्र दिनुपर्ने माग राखेका छन् ।

यद्यपि, पत्रकार गुरागाईंलाई नागरिकले बुधबारमात्रै उनको भुक्तानी गर्न बाँकी रहेको पारिश्रमिक एक लाख ८२ हजार पाँच सय रुपैयाँ भुक्तान गरेको छ । उनले आफ्नो सत्याग्रह तुहाउनका लागि व्यवस्थापनले उक्त रकम दिएको भन्दै अन्य पत्रकारले पाउनुपर्ने तलब नपाउँदासम्म आन्दोलन जारी राख्ने बताए ।

गुरागाईंले पाँचदिने सत्याग्रह सम्पन्न भएको १५ दिनभित्र अन्य पत्रकारको तलब नदिए आमरण अनशनमा बस्ने बताए । उनको अन्दोलनलाई नेपाल पत्रकार महासंघले समर्थन गर्दै अन्य सञ्चार गृहबाट पीडित पत्रकार–कर्मचारीको संघर्ष समिति गठन गरेको छ ।

महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले नागरिक, अन्नपुर्ण पोस्ट, कान्तिपुर मिडिया ग्रुप, कारोबार दैनिक, माउन्टेन टीभी, एभिन्यूज टीभी र नेपाल आज अनलाइनमा कार्यरत पत्रकार र कर्मचारी सम्मिलित संघर्ष समिति गठन गरिएको बताए ।