बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या, नग्न अवस्थामा फेला पर्‍याे शव

 बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या, नग्न अवस्थामा फेला पर्‍याे शव

बझाङ, ८ असाेज ।  बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएकाे छ । पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गर्दा बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको हाे ।

परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेका थिए । त्यसपछि आफन्तले नै प्रहरीलाई खबर गरेका  थिए । 

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको परिवारले दावी गरेको छ । ‘घटनास्थलबाट बालिकाले लगाएको भनिएको मुन्द्रा भेटिएको छैन,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले भने

बालिकाका बुबाआमा भने रोजगारीका सिलसिलामा भारतमा छन् । छोरीको मृत्यु खबर पाएलगत्तै उनीहरु नेपाल फकिँदै छन् । मृतक बालिकाको शव पोस्टमार्टमको लागि चैनपुर लगिएको खड्काले बताए । 

घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । घटनामा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।