प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगे प्रचण्ड, सचिवालय बैठक बोलाउने तयारी

प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगे प्रचण्ड, सचिवालय बैठक बोलाउने तयारी

काठमाडौं, ८ असाेज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्माओलीलाई भेट्न वालुवाटार पुगेका छन् । ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

दुई अध्यक्षबीच सचिवालय बैठकमा पेश भएर छलफल हुन बाँकी कार्यसुचीका बारेमा थप छलफल हुने बुझिएको छ । दुई अध्यक्षबीचको भेटवार्तापछि सचिवालय बैठक बोलाउने तयारी छ ।  

मंगलबार बसेको सचिवालय बैठकले विविध विषयमा दुई अध्यक्षबीच कुराकानी गरेर सचिवालयमा पुुन छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायकाजी श्रेष्ठले बताएका थिए । सोहीअनुसार बिहीबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो । 

सचिवालय बैठकमा यसअघि तय भएका कार्यसूचीमध्ये मन्त्रिपरिषद पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकता र विविध विषयमध्ये तीनवटा विषयमा छलफल भइसकेपनि निर्णय भने केही भएको छैन । मन्त्रिमण्डल पुनर्गठन तथा राजनीतिक, संवैधानिक नियुक्तिका सवालमा मापदण्ड बनाउने र सोहीअनुसार नियुक्तिहरु गर्ने भनिएपनि कस्तो मापदण्ड बनाउने भन्ने निश्चित भएको छैन ।