काठमाडौंबाट हेटौँडाका लागि छुटेको जीप पहिरोले पुरिँदा चालकको मृत्यु

काठमाडौंबाट हेटौँडाका लागि छुटेको जीप पहिरोले पुरिँदा चालकको मृत्यु

हेटाैंडा, ७ असाेज । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउरालीमा पहिरोले स्कारपियो जीप पुरिँदा एक जनाको मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ देउरालीनजिक आज बिहान बा १७ च ४८७४ नम्बरको जीप पहिरोले पुरेको हो।

सडकमा गुडिरहँदा माथिबाट खसेको पहिरोले जिप पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार मृतक बारा पर्सौनी–४, का ४० वर्षीय युनिश अन्सारी हुन् । उनको घटनास्थलमै मृत्यु भएको रानाले  बताए ।

बुधबार बिहान करिब १० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो । पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको थियो ।

मोटरसाइकलमा सवार दुई जनाको सकुशल उद्धार गरिएको थियो । जसमध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।