राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किंग्स १६ रनले पराजित

राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किंग्स १६ रनले पराजित

काठमाडाैं, ७ असाेज।  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।

चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो । राम्रो सुरुवात पाए पनि मध्यक्रममा राम्रो साझेदारी बन्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो । राजस्थानले स्पिनरलाई आक्रमणमा ल्याएपछि सुरु भएको चेन्नईको विकेट पतन लगातार जारि रहेको थियो । फाफ डु प्लेसिसले एकतर्फ इनिङ सम्हालेपनि राम्रो साथ पाउन सकेनन् ।

धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे । रविन्द्र जडेजा १ रनमा नटआउट रहे ।

राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १-१ विकेट हात पारे ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ७४ रनमा क्याच आउट हुन पुगे । स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए ।  त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए ।

पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए ।

चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ ।