आईपीएल : हैदराबादलाई १० रनले पराजित गर्दै बेंगलोरकाे विजयी सुरुवात

आईपीएल : हैदराबादलाई १० रनले पराजित गर्दै बेंगलोरकाे विजयी सुरुवात

काठमाडाैं, ६ असाेज । इन्डियन प्रिमियर लिग 'आईपीएल' २०२० को तेस्रो खेलमा सनराइजर्स हैदराबाद पराजित भएकाे  छ । खेलमा रोयल च्यालेन्जर्स बेंगलोर 'आरसीबी' ले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हाे ।  याेसँगै रोयल च्यालेन्जर्स बेंगलोरले विजयी सुरुवात गरेको छ ।

आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हैदराबादलाई अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा ८ विकेट हातमा थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो । हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा अप्रत्याशित ६ रनमा रन आउट भए ।

आरसीबीको जीतमा युजवेन्द्र चहल नायक बने । उनले मात्र १८ रन खर्चेर ३ विकेट लिए । उनले हैदराबादका जोनी ब्रेस्ट्रो र मनीष पान्डेको महत्त्वपूर्ण विकेट लिए । दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । यो साझेदारी तोड्नु नै खेलको टर्निङ प्वाइन्ट बन्यो ।

१६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुवात खराब रह्यो । कप्तान डेविड वार्नर मात्र ६ रन बनाएर आउट भए । ब्रेस्ट्रोले ६१ र पान्डेले ३४ रन बनाउँदै हैदराबादलाई सम्हाले । तर, हैदराबादका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकेपछि टोली पराजित हुन पुग्यो ।

यसअघि आरसीबीका लागि आफ्नो डेब्यू खेलमा देवदत्त पडिक्कलले ५६ रन बनाए । त्यस्तै, एरोन फिन्चले २९ बनाउँदै पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यसपछि एबी डिविलियर्सले ५१ रनको योगदान दिए ।