एनआईसी एशियाको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

एनआईसी एशियाको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

काठमाडाैं, ५ असाेज । देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक एनआईसी एशिया बैंककाे अनलाइनबाटै भाैचर भर्न सकिने भएकाे छ । ग्राहकले आफ्नो घर वा अफिसबाटै मोबाइल वा  ल्यापटपकाे प्रयोग गरी  बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने व्यवस्था गरेकाे हाे ।

ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत  https://www.iserve.nicasiabank.com   लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने बैंकले जनाएकाे छ। उक्त लिंक भित्र  सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ ।

उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस  मार्फत डिपोजिट कोड पठाइनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई  बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने बैंकले जनाएको छ । यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ ।

बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
 
चेक जम्मा गर्ने भौचर अनलाइन भर्ने सो सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाइन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल अकाउन्ट ओपनिङ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।

यस्तै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत आईसर्भिस मार्फत सेवा दिइरहेको छ  । उक्त सेवाहरू आईसर्भिस मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।