आईपिएल: दिल्ली क्यापिटल्सद्वारा सुपरओभरमा पञ्जाब पराजित

आईपिएल:  दिल्ली क्यापिटल्सद्वारा सुपरओभरमा पञ्जाब पराजित

काठमाडाैं, ५ असाेज। इन्डियन प्रिमियर लिग 'आईपिएल' २०२० मा किंग्स इलेभेन पञ्जाब पराजित भएकाे छ ।  दिल्ली क्यापिटल्सले  किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हाे ।

सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडे पनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गर्दै दिल्लीलाई बलियो स्थितिमा पुर्याए ।

सुपर ओभरमा दिल्ली क्यापिटल्सले ६ बलमा ३ रन बनाउनुपर्ने थियो। मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए । यसअघि सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले दुई विकेट गुमाएर दुई रन बनाएको थियो।

त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पञ्जाबलाई अन्तिम ६ बलमा १३ रन आवश्यक परेको थियो । मंयक अग्रवालले मार्कस स्टोइनिसलाई पहिलो बलमै छक्का प्रहार गर्दै सहज जितको आशा देखाए । दोस्रो बलमा दुई र तेस्रो बलमा चौका प्रहार गरेपछि नतिजा पञ्जाबको पक्षमा जाने देखिएको थियो ।

अन्तिम तीन बलमा पञ्जाबलाई एक रन मात्र चाहिएको थियो । तर स्टोइनिसले चौथो बल डट गराउँदा पाँचौ बलमा अग्रवाललाई शिम्रन हेटमायरबाट क्याच आउट गराए । स्टोइनिसको अन्तिम फुलटस बलमा क्रिस जोर्डन कागिसो रबाडाबाट क्याच आउट भएपछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो ।