क्यानडाका पूर्व प्रधानमन्त्री जोन टनरकाे निधन

क्यानडाका पूर्व प्रधानमन्त्री जोन टनरकाे निधन

एजेन्सी । क्यानडाका पूर्व प्रधानमन्त्री जोन टनरकाे निधन भएकाे छ । ७९ दिन मात्र सत्तामा रहेका पूर्व प्रधानमन्त्री टनरकाे ९१ वर्षको उमेरमा निधन भएको हाे । जोन टनर, जो मात्रै ७९ दिन सत्तामा थिए र आफ्नो लिबरल पार्टीलाई सन् १९८४ को चुनावमा ठूलो हारबाट जोगाउन सकेका थिएनन् ।

पेशाले वकिल रहेका उनले सन् १९६८ देखि १९७५ सम्म वित्त मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले पार्टीका नेता पिएर ट्रूडोसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए ।

वित्त मन्त्रीबाट राजीनामा दिएपछि ९ वर्षसम्म वकालत गरेका उनी पार्टीको नेतामा विजयी भए । त्यसपछि प्रधानमन्त्री बनेका उनले चुनाव घोषणा गरे तर उनको नेतृत्वमा लिबरल पार्टीले खराब हार बेहोर्न बाध्य भयो । सन् १९८४ को लिबरल पार्टीको हारलाई क्यानडाको इतिहासमा सबैभन्दा खराब चुनावी अभियानको नतिजाका रुपमा लिइन्छ ।

पार्टी नेतृत्वमा कायम रहेका टनरले सन् १९८८ को चुनावमा केही सुधार गरे तर मुलरोनीको कन्जरभेटिभ पार्टीलाई पराजित गर्न भने सकेनन् । सन् १९९० मा उनले लिबरल पार्टीको नेताबाट राजीनामा दिएका थिए ।