वैकल्पिक शिक्षा प्रणालीमा अपाङ्गता भएका विद्यार्थीहरुको सवालमा अपाङ्ग महासंघको अन्तरक्रिया

वैकल्पिक शिक्षा प्रणालीमा अपाङ्गता भएका विद्यार्थीहरुको सवालमा अपाङ्ग महासंघको अन्तरक्रिया

काठमाडाैं, ३ असाेज । वैकल्पिक शिक्षा प्रणालीमा अपाङ्गता भएका विद्यार्थीहरुको सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले शुक्रबार भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको छ ।कोभिड १९ को महामारी र बन्दाबन्दीको समयमा हजारौँ अपाङ्गता भएका बालबालिका विद्यालयबाट टाढा भएपछि हाल उनिहरुलाई शिक्षण संस्थासम्म कसरी पहुँच पुनःस्थापित गर्ने भन्ने विषयमा भर्चुअल माध्यम जुमको प्रयोग गरी अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रिया कार्यक्रमको आयोजकका तर्फबाट पहिलो प्रस्तुती दिदै राष्ट्रिय अपाङ्ग महासंघ महासचिव राजु बस्नेतले महासंघले गरेको प्राम्भिक सर्वेक्षणमा अपाङ्गता भएका बालबालिकाहरु पठनपाठन पद्दती पहुँचयुक्त नभएको कारण उनिहरु शिक्षा प्राप्त गर्ने मौलिक हकबाट पछि परेको बताए । महासंघले गरेको उक्त अध्ययनमा विशेषगरी श्रवणदृष्टिविहिन, बहिरा, बौध्दिक अपाङ्गता, अटिजम लगायत सिकाइ सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरुलाई विशिष्ट डिभाइस,श्रव्य सामग्री, दोभाषे तथा साँकेतिक भाषाका सहयोगी आवश्यक पर्ने देखिएको हुनालेसो को व्यवस्था गरी इन्टरनेटमा सबै अपाङ्गता भएका बालबालिकाको सहज पहुँच तथा अभिभावकसँग सँगैको शिक्षा सिकाइ पद्दति हुनुपर्ने बताए ।

यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाका शाखा अधिकृत नारद धमलाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले बैकल्पिक माध्यमलाई मूलधारमा गणना गरिएकाले सूचना र प्रविधिमा पहुँच नभएका बालबालिकाहरुको पहिचान गरी  छिट्टै उनीहरुको आवश्यकता अनुसार सम्बोधन हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले समय सान्दर्भिक विषय उठान गरेकोमा महासंघलाई धन्यवाद दिदै आगामी दिनमा सबैको लागी पहुँचयुक्त सिकाई पद्धती निर्माण गरी लागु गरिने बताउनुभयो । नेपाल सरकारले सबै बालबालिकाहरुको लागि शिक्षामा पहुँच प¥ुयाउन विभिन्न पहलहरु गरिरहेको र सो कार्यमा सरोकार राख्ने सबै निकायहरुको अपरिहार्य सहयोग समन्वय तथा सहकार्य हुन जरुरी रहेको बताए । 

कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय अपाङ्ग महासंघका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुको लागी शिक्षा अत्यावश्यक भएको तर पहुँचयुक्त ढाँचा नभएकोले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न नसकिएको बताउनुभयो । साथै उहाँले समावेशी शिक्षा कार्यान्वयनको विषयमा आएका सुझावहरु सरोकार निकायमा पु¥याउने बताए । 

यसैविच राष्ट्रिय अपाङ्ग महासंघ नेपालले लामो समय देखि शिक्षामा कार्यरत माइराइट नेपालको सहयोग तथा  पाठ्यक्रम विकास केन्द्र सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा प्रणालीलाई नै समावेशी बनाउने उद्देश्यले विभिन्न २० वटा पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकाहरुमा पुनरावलोकन कार्य  गरिरहेको पनि उनले बताए । 

पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव विकास स्रोत केन्द्रको संयुक्त आयोजना तथा माइराइट नेपालको सहयोगमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षाका सरोकार निकाय पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका विभिन्न विभागका प्रतिनिधिहरु, राष्ट्रिय अपाङ्ग महासंघका संघीय तथा प्रादेशिक पदाधिकारी, देशैभरीका अपाङ्गता स्वावलम्बमी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षामा कार्यरत माइराइट नेपाल लगायतका विभिन्न अन्तराष्ट्रिय संघसंस्थाहरु, विश्वविद्यालयका प्रतिनिधिहरु लगायतबाट २०० जनाको सहभागिता रहेको सो कार्यक्रम महासंघको संघीय सदस्य रमेश पोखरेलले सहजिकरण गरेका थिए ।