बिहिवार, असोज १५, २०७७
    अावास-निर्माण

    मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध

    सोमबार, २९ भाद्र २०७७, रासस.

    पर्वत। शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ। सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो। 

    आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो। आज सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ। यातायात अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी र यात्रु सडकमा नै अलपत्र परेका छन्।

    पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेरसमेत वारपार गर्न पाएका छैनन्। सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरण प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेकाले तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए।

    चुवा, दोविल्लालगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उनले जानकारी दिए। कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast