एमसीसी दलालहरुले आफ्नाे विरुद्ध गलत हल्ला चलाएकाे भीम रावलकाे आराेप

एमसीसी दलालहरुले आफ्नाे विरुद्ध गलत हल्ला चलाएकाे भीम रावलकाे आराेप

काठमाडाैं, २७ भदाै।  नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का चर्चित नेता भीम रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट 'एमसीसी' पारित गर्नुपर्छ भन्ने दलालहरुले आफूविरुद्ध गलत हल्ला फैलाएको आराेप लगाएका छन्।

एमसीसीको सुरुदेखि नै विपक्षमा रहँदै आएका नेता रावल एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेपछि नेता रावलले त्यसको खण्डन गर्दै आफूले कहीँ पनि एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको प्रस्ट पारेका हुन्।

उनले आफूले भन्दै नभनेको कुरा भन्यो भनेर हिँड्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोप लगाएका छन्। उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्। यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’

शनिबार सम्पन्न नेकपा स्थायी समितिको बैठकले एमसीसी परिमार्जन गरेर पारित गर्ने निर्णय गरेको छ। नेकपाको निर्णयसँगै नेता रावल पनि एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेको थियो।