सुतेकै ठाउँमा आमा र छोराको हत्यापछि आफैले गरे आत्महत्या

सुतेकै ठाउँमा आमा र छोराको हत्यापछि आफैले गरे आत्महत्या

काठमाडौं,२७ भदौ । भक्तपुरमा एकै परिवारका ३ जनाकाे शव भेटिएकाे प्रकरणमा नयाँ तथ्य खुलासा भएकाे भएकाे छ । मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको हाे ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

स्रोतका अनुसार अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा विषको जस्तो गन्ध आएको छ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।