क्यानले क्रिकेट खेलाडीको खातामा पठायो एक वर्षको तलब

क्यानले क्रिकेट खेलाडीको खातामा पठायो एक वर्षको तलब

काठमाडौं, २५ भदौ। सिनियर नेपाली क्रिकेट खेलाडीको एक वर्षको तलब नेपाल क्रिकेट संघ 'क्यान'ले उनीहरूकाे खातामा पाठाएकाे छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो ।

स्राेतका अनुसार २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको छ । तर क्यानले भने अहिलेसम्म २०१९ को ग्रेडिङ लिस्ट र तलब पठाएकोबारे केही सार्वजनिक गरेको छैन ।

क्यानले यसअघि आईसीसीको मागअनुसार २२ खेलाडी र एक जना टेक्निकल एनालिस्टसहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो । त्यहीअनुसार सेप्टेम्बर १ मा आईसीसीले रकम निकासा गरेको थियो ।

पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।

यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुले १० हजार बढी तलब पाउनेछन् । क्यानले १० हजार बढाउन गरेको प्रस्ताव आईसीसीले स्वीकार गरेर तलब पठाएको हो ।

हरेक ग्रेडका खेलाडीले पाउने तलबमा १० हजार वृद्धि भएपछि अब ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक ४५ हजार रुपैयाँको दरले प्राप्त गरेका छन् । यस्तै ‘बी’ ग्रेडमा रहेकाले ३५ र ‘सी’ ग्रेडमा रहेकाले २५ हजार पाउनेछन् । यसअघि ‘ए’ मा हुनेले ३५ हजार ‘बी’मा हुनेले २५ हजार र ‘सी’ मा हुनेले १५ हजार पाएका थिए।