काेराेना महामारीबीच निजी स्कुलका करिव ३ हजार शिक्षकले गुमाए जागिर

काेराेना महामारीबीच निजी स्कुलका करिव ३ हजार शिक्षकले गुमाए जागिर

काठमाडाैं, २५ भदाै । काेराेना महामारीका बेला देशभरबाट करिव ३ हजार शिक्षकले जागिर गुमाएका छन् ।देशभरका निजी विद्यालयले कोरोना महामारीका बेला शिक्षक निष्कासन गर्ने, बेतलबी राख्ने र किस्ताकिस्तामा तलब दिने गरिरहेका छन् ।

ललितपुर सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले लकडाउन अवधिको तलब माग्ने शिक्षकहरूलाई निष्कासन गरेको छ । वैशाखदेखि नै भर्चुअल कक्षामा पठनपाठन गराउँदै आएको विद्यालयले अन्य केही शिक्षकलाई भने किस्ताबन्दीमा न्यून तलब दिएको छ ।

प्याब्सन सहअध्यक्ष डीके ढुंगाना सञ्चालक रहेको विद्यालयको यो एउटा उदाहरण मात्रै हो । ‘मावि पढाउने शिक्षकलाई महिनाको १४ हजारका दरले तलब दिइएको थियो,’ रेडियनका एक शिक्षकले भने, ‘काठमाडौंमा बाँच्नै गाह्रो भयो ।

उक्त विद्यालयका केही शिक्षकले राजीनामा दिइसकेका छन् भने केहीले संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मा उजुरी हालेका छन् । तर,रेडियनका सञ्चालक ढुंगानाले भने करार अवधि सकिएका शिक्षकलाई बिदा गरेको दाबी गरे ।

इस्टुका अनुसार चैतयता मुलुकभरका ३ हजार १२ जना शिक्षकले जागिर गुमाइसकेका छन् । कोरोना भाइरसको बहाना बनाएर निजी विद्यालय सञ्चालकहरूले शिक्षकलाई जबर्जस्ती निष्कासन गर्ने क्रम बढेको इस्टु अध्यक्ष होमकुमार थापाले बताए ।

कोरोनाको अवस्थाबारे इस्टुले गरेको सर्वेक्षणमा वैशाखयता समयमै पूरा तलब पाउने शिक्षक दुई प्रतिशत मात्रै छन् । चालु शैक्षिक सत्रमा तलब नै नपाउने शिक्षक २७ प्रतिशत रहेको जनाइएको छ । बाँकीलाई किस्ताबन्दीमा तलब दिइएको छ । यो निजी विद्यालयका शिक्षकहरूको मात्रै तथ्यांक हो । कर्मचारीलाई पनि समावेश गर्दा प्रतिशत अझै बढ्ने उनकाे भनाइ छ ।

५७ प्रतिशत शिक्षकले गत शैक्षिक सत्रदेखिकै तलब सुविधा नपाएको इस्टुले जनाएको छ । चैत दोस्रो साताबाट लकडाउन सुरु भएपछि निजी विद्यालयले तलब दिन रोकेका थिए । ‘पुसदेखि तलब पाएनौं भनेर पनि सरहरूले उजुरी दिनुभएको छ,’ थापाले भने । सर्वेक्षणअनुसार ४० प्रतिशत शिक्षकलाई मात्रै नियुक्तिपत्र दिएर काममा लगाइएको छ ।

‘कोरोना देखाएर उपदान दिन्छौं भन्दै शिक्षकलाई जागिरबाट हटाउन प्रलोभन देखाइएको छ,’ उनले भने, ‘सजिलै राजीनामा नदिए जबर्जस्ती गरिएको छ । हटाउन नसके बेतलबी बनाइएको छ । एक तिहाइ मात्रै तलब दिएर काममा लगाइएको छ ।’ संस्थागत विद्यालयमा देशभर डेढ लाखभन्दा बढी शिक्षक र कर्मचारी छन् ।

भक्तपुरको महेन्द्र विद्याश्रम, सिरहाको सगरमाथा, देशभर सञ्जाल रहेको समता स्कुल, सुनसरीको मोर्डन पब्लिक स्कुल, जनकपुरको ईटीईआरएनएल लाइभ पब्लिक स्कुल, बाँकेको बुद्ध इंग्लिस स्कुल, सुर्खेतको विद्या निकेतनलगायत बोर्डिङले तलब नदिएको र शिक्षक निष्कासन गरेको भनेर उजुरी परेको शिक्षक युनियनले जनाएको छ ।

दशकौंदेखि पठनपाठन गराउँदै आएका शिक्षकलाई निजी विद्यालय सञ्चालकहरूले संकटको घडीमा मनोवैज्ञानिक त्रास दिएको उनीहरू गुनासो गर्छन् । 

शिक्षकलाई तलब दिलाउन र पुनर्बहाली गराउन प्याब्सन, एनप्याब्सनसँग छलफल चलिरहेको इस्टु महासचिव भोलानाथ चालिसेले बताए । ‘मानवअधिकार आयोग र शिक्षक महासंघमा पनि उजुरी गरेका छौं,’ उनले भने, ‘तलब नपाउने र जागिर गुमाउनुपर्ने अवस्था रहे सञ्चालक र सरकारविरुद्ध आन्दोलनमा जान्छौं ।’