एक अर्ब लगानीमा नेपालमै सुरु भयो टीभीएस बाइक उत्पादन

एक अर्ब लगानीमा नेपालमै सुरु भयो टीभीएस बाइक उत्पादन

काठमाडाैं, २० भदाै । अब टीभीएसका बाइक नेपालमै उत्पादन हुने भएका छन् । जगदम्बा मोटर्सले १ अर्बको लगानीमा टीभीएसका बाइक नेपालमै उत्पादन गर्न सुरु गरेको हाे।

सिमरामा प्लान्ट स्थापना गरी कम्पनीले स्वदेशमै उत्पादन सुरु गरेको हो। नेपालमा आधिकारिकरुपमा टीभीएसका बाइक तथा स्कुटर बिक्रीवितरण गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोर्टसले प्लान्टमा लगानी गरेको हो।

जगदम्बा मोटर्सले नेपालमा अत्यधिक रुचाइएको अपाचे १६० को बाइकबाट उत्पादन गर्दै छ। वार्षिक १ लाख क्षमता भएको टीभीएस प्लान्टले एक वर्षभित्र अधिकांश बाइकको एसेम्बलिङ नेपालमै गर्ने लक्ष्य राखेको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले परीक्षण उत्पादनको अन्तिम चरणमा रहेको बताए। उनले भने,  ‘अहिले परीक्षण उत्पादनमै छौँ। अबको केही समयपछि अपाचे १६० बाइक उत्पादन गर्दै छौँ। ‘प्लान्टको क्षमता वर्षको झण्डै १ लाख उत्पादन गर्ने छ। टीभीएसको सबै सवारी नेपालमै उत्पादन गर्ने सोच छ।’

कम्पनीले अहिले करिब सय जना दक्ष जनशक्ति ‘हायर’ गरिसकेको भने अझै सय जना ‘हायरिङ’ प्रक्रियामै छ। अहिले करिब ३ सय बढीले रोजगारी पाउने समेत कम्पनीले दाबी गरेको छ।

जगदम्बा मोटर्सले भारतको टीभीएस मोटर्स लिमिटेडसँग सहकार्य गरी नेपालमा प्लान्ट स्थापना गरेको हो। कम्पनीले एसेम्बलको लागि आवश्यक सामग्री सबै टीभीएस कम्पनीबाटै आउनेछन्।

सरकारले आर्थिक ऐनमार्फत नेपालमा दुईपांग्रे सवारी उत्पादन गर्नेलाई २५ प्रतिशतसम्म अन्तःशुल्क छुट दिइरहेको छ। सुरुमा ५० प्रतिशतसम्म छुट दिएको सरकारले पछिल्लो समय २५ प्रतिशत मात्रै छुट दिइरहेको छ।