बिहिवार, असोज १५, २०७७
    लेख/संवाद

    भ्रष्टाचार शब्दको साँघुरिएको अर्थ र यसका रङ्ग–तरङ्गहरू

    सोमबार, १५ भाद्र २०७७, राजेन्द्र बोहरा.

    भ्रष्टाचार शब्द भ्रष्ट र आचार दुई शब्दको सन्धिबाट बनेको हो । पतित आचरण ,दूषित मर्यादा, अपवित्र व्यवहार जस्ता अर्थ  बोकेको यस शब्दले कुनै सीमित क्षेत्र वा परिधिभित्र हुने खराब व्यवहारलाई मात्र होइन सामाजिक , धार्मिक ,शैक्षिक ,व्यापारिक , राजनीतिक, स्वास्थ्य, पत्रकारिता,राज्यका विभिन्न ओहदा आदि अनेक–अनेक क्षेत्रमा हुने सबै खाले अनुचित व्यवहारलाई सङ्केत गर्ने गर्दछ । तर हिजोआज डार्बिनको विकासवादको सिद्धान्त जीव र वनस्पतिमा मात्र नभएर भ्रष्टाचार शब्दमा पनि लागू भएको पाइन्छ । त्यसैले  आजकाल हामी भ्रष्टाचार भन्नासाथ राज्यका ओहदामा रहेकाहरूले सार्वजनिक पद र शक्तिको दुरुपयोग गर्दै घूस–कमिसन खाने तथा सरकारी रकम अनैतिक ढङ्गले कुम्ल्याउने चरित्रलाई मात्र सम्झिने गर्छौँ । अन्य क्षेत्रका दूषित तथा निन्दित क्रियाकलापसँग त यस शब्दको सम्बन्धविच्छेदै जस्तो भइसक्यो । यस प्रकार मानवमानसपटलमा भ्रष्टाचार शब्द सार्वजनिक जिम्मेवारी प्राप्त व्यक्तिका गैरकानुनी आर्थिक  गतिविधि मात्र बोध गराउने गरी छाप भएर बस्नुको प्रमुख जड घुस्याहा र कमिसनखोरहरूबाट राज्यका प्रणाली तुहाइनु र मुलुकको ढुकुटी रित्याउने मुसापनको प्रदर्शनी चरमोत्कर्षमा भइरहनु नै हो ।
    स्वार्थ आजका मानिसको सोचको पृष्ठभूमि बनेको छ ।अनुशासन भन्ने कुरा वर्तमान परिवेशमा शब्दमा मात्र जीवित रहेको छ । चलाखी ,धुत्र्याइँ, बेइमानी ,बदमासी, निर्दयीपन जस्ता भावले टम्म भई मान्छे मुलुकमा भ्रष्टपनको दौडाहा चलाउनमा हरपल उद्यत देखिन्छ । परिणामतः कालोबजारी,मुनाफाखोरी,खाद्य पदार्थमा मिसावट,गुण्डागर्दी,हत्या,हिंसा,बलात्कार, अपराधीको बचाउ,प्रहरीले बेलाबखत नागरिकमाथि गर्ने अभद्र व्यवहार ,शिक्षक–कर्मचारीका कामचोर चरित्र, पूर्वाग्रही तथा पक्षीय भावना बोकी गरिने पत्रकारिता,चिकित्सा क्षेत्रको अति अर्थमुखी प्रवृत्ति आदि अनगिन्ती स्वरूपका भ्रष्टाचारको शिकार हामी भइरहेका छौँ । समाज र राष्ट्रका घातक क्रियाकलापका भयानक आकृति यी आचार–व्यवहार भ्रष्टाचार शब्दको भावसँग शब्दकोशमा चाहिँ समेटिएकै छन् ,व्यवहारिक सतहमा भने समेटिन छाडिसके ।                        
    बाहिरका कुरा छोडेर हाम्रै मुलुकभित्रका भ्रष्टाचारका आकृति तथा प्रकारबारे वर्णन गर्ने हो भने हिन्दूशास्त्रमा हजार जिभ्राका भनी उल्लेख गरिएका शेषनाग  पनि असफल रहन्छन् । तसर्थ एक जिब्रे प्राणी हामीे भ्रष्टाचारका सबै किसिम न फलाक्नै सक्छौँ न उल्लेख गर्न नै ।अतः यस शब्दले वर्तमान युगमा आँैल्याउने आचरण ,जुन सार्वजनिक ओहदा र शक्तिमा रहेका पैसाका पिपासुहरूले वरण गरेका छन् ,यसैको सेरोफेरोमा रही चर्चा गरियो भने उचित हुन्छ होला र सामयिक पनि । तर यस विषयमा बयान गर्दा पनि केवल नेपाली परिवेशभित्रका चकचकीको बोक्रासम्म कनीकुथी कोर्न सकिएला । गुदी कुरा त हाम्रो वशको कुरै भएन।

    घूुस–कमिसन सोहर्ने ,मुलुकको बजेट झ्वाम पार्ने भ्रष्टहरूलाई भिन्न स्वरूपका धमिराका रूपमा मान्न थालिएको छ । सङ्घ, प्रदेश, स्थानीय तह र मुलुकका सबैजसो अड्डाहरूमा यस्ता खाले धमिराहरू मानवआकृतिमा सलबलाइरहेका हुन्छन् ।उत्पत्ति,कार्यकाल,खाने शैली आदिका आधारमा केलाउने हो भने यिनीहरूलाई दुई प्रजातिमा विभाजन गर्न सकिन्छ । एक खालेको आयु लामो हुन्छ,जसको खाने कला अद्भुत हुने गर्दछ । यस प्रजातिभित्रका धमिराहरू मिलाई–मिलाई खान्छन्,कुटुकुटु खाइरहन्छन् ,निकै खान्छन् । तर आवरणमा चोखो,नखाएजस्तो देखाउन सक्छन् । अर्काको चाहिँ आयु अघिल्लाको तुलनामा छोट्टै हुन्छ । छोटो अवधिका कारण कलाको प्रयोग गर्न त्यति अनुकूल हुँदैन होला, त्यसैले यसभित्र पर्ने धमिराहरू हतार–हतार,हाङ्ग्राले पाङ्ग्रा निलेझँै गरी खान्छन् ।अरू कला नभए पनि थोरै समयमा धेरै खाने कला भने यिनीहरूमा प्रचुर मात्रामा हुने गर्छ । फरक वर्णबीच एउटै कर्म गर्दै राष्ट्ररूपी धरातलका देउराली, भन्ज्याङ र बेँसी उजाड्ने यी दुई थरी जीवहरू हुन् ः– भ्रष्ट कर्मचारी र राजनीतिक अधिकारी ।

    सरकारी अड्डाहरूबाट जनताले सेवा लिनुपर्दा ढिला–सुस्ती तथा कृत्रिम बाधा अड्काउसँग सामना नगरी सुखै छैन । त्यहाँ कर्मचारीलाई रकमले नरिझाएसम्म सर्वसाधारणको काम फत्ते हुने सम्भावनै रहन्न । चित्त बुझ्ने गरी पोसिन पाए भने नियमको रेखा नाघेर किर्ते कर्म गर्न कुनै आइतबार पर्खदैनन्  यिनीहरू । “घूस नखाने हाकिम र भुस नखाने सुँगुर हुन सक्दैन” भन्ने लोकोक्ति समाजमा त्यसै चलेको कहाँ हो र !
     
    मालपोत कार्यालय, नापी शाखा ,भूमिसुधार ,भन्सार ,जिल्ला प्रशासन कार्यालय , यातायात व्यवस्था विभाग , विद्युत् प्राधिकरण, शिक्षा विभाग ,न्यायालय ,प्रहरी प्रशासन आदि निकाय प्रशस्त आर्थिक भ्रष्टाचार हुने अखडा भएको तथ्य प्रत्येक वर्षको अनुसन्धानमा अख्तियारले अघि सारिरहेकै छ । अख्तियारका हरेक अनुसन्धान तथा सरकारी अड्डाहरूमा जनताले भोगेका यथार्थलाई आधार बनाई भन्ने हो भने भ्रष्टाचार नहुने निकायको सङ्ख्या लगभग शून्य छ । ओहदा–दर्जाको गुरुत्वअनुसार गरिने अनैतिक गतिशीलताले हर निकाय ग्रस्त छ, बिटुलो छ ।
                                            
    राजनीतिक क्षेत्रमा हुने भ्रष्ट क्रीडाको त कुनै साँध–सिमाना नै छैन भने पनि हुन्छ ।सङ्घ, प्रदेश र स्थानीय  तीनवटै तहका  महानुभावहरू जनताले पाँच वर्षको अवधिभर राष्ट्रको सम्पत्ति लुट्न पठाएको बोध भएझैँ गरी पदबहाली भएलगत्तै चालबाजी आरम्भ गर्दछन् ।घूस र कमिसनको कुम्लो बोक्नमा आफनो गच्छे र बर्कतअनुसारको सामथ्र्य प्रयोग गर्दै यिनीहरू विभिन्न शीर्षकमा छुट्याइने सरकारी बजेटको अधिक हिस्सालाई आहारा बनाउने कर्म गरिरहेका छन् । विगतका सरकारमा रहिसकेका केही जानकारहरू ,जसले हिजो आफूले  पनि कुम्ल्याउन बाँकी राखेनन् होला । तिनीहरूले बेलाबखत बताएअनुुसार  विकासका योजना तर्जुमा  भएदेखि कार्यान्वयनको तहसम्म आइपुग्दा साठीदेखि सत्तरी प्रतिशतसम्म रकम भ्रष्टाचार हुने  गर्दछ ।अथवा कुनै पनि शीर्षकका बजेट सकुशल लक्षित विन्दुमा अवतरण हुँदै हँुदैनन् । विचित्रको कुरा के छ भने तीनवटै तहका राजनीतिकर्मीले भोगिरहेका आर्थिक  सुविधाको प्रकृतिमाथि पनि भ्रष्टाचारको आकृतिले वास गरेको पाइन्छ । वडादेखि केन्द्रसम्मका महोदयहरूको तलब–भत्ताका निम्ति मासिक रूपमा हुने खर्च जति माथि त्यति अति हुँदै सिरानतिरका नेतागणका तलब र तिनका हलचलैपिच्छेका भत्तामा टुिङ्गदासम्म बन्ने आयाम देशका निम्ति कष्ट बनिरहेको छ । बेइमानहरू स्वयम्ले आफ्नो सुविधा निर्धारण गर्ने अख्तियार प्राप्त गरे भने प्रायः यस्तै हुने गर्दछ । 
        कुनै पनि विषयमा नियम तयार पार्दा ठीक र बेठीकको  स्थान फेरबदल हुनु हँुदैन् । यदि फेरबदल हुन्छ भने त्यस्तो नियम औचित्यको सीमाभन्दा परको बन्न पुग्दछ । यसर्थ नीतिनियमले समेटेकै किन नहोस् ,यदि मुलुकको अवस्थाले मान्यता दिन नसक्ने सुविधा भोग गरिन्छ भने त्यस्तो भोगाइ अनुचित लाभ हो ,भ्रष्टाचार हो । यस प्रकार नेपालमा नियत खराब भएर मात्र होइन ,नियम खराब बनाएर पनि भ्रष्टाचार भइरहेका छन् ।उल्टो– सुल्टो जताबाट पनि खाने यी प्रथाको प्रधानताले  यति धनराशि पाखा लागिरहेका छन् कि तिनको मात्राको तुलनामा यहाँ भइरहेका विकास –निर्माण औँसानीभन्दा बढी  परिमाणका छैनन् ।

    माथि लगातार भइरहने अनगिन्ती भ्रष्टाचारहरू ओझेलभित्रै हराउँछन् ।ओझेलबाट ढाकिन नसकेका वाइडबडी विमान खरिद ,बालुवाटार जग्गा ,स्वास्थ्य सामग्री खरिद जस्ता काण्ड –प्रकरण मात्र बाहिरिने गरेका छन् । ती बाहिरिएका काण्ड –प्रकरणहरूलाई झ्यापझुप पार्न राजनीतिका कृपाशङ्करहरूद्वारा ठूलै प्रयत्न गर्ने गरिन्छ ।कृपाले धान्न नसक्दाचाहिँ त्यस्ता प्रकरणका  पात्रहरू कानुनको परिधिभित्र पर्दछन् ।तर त्यहाँ पनि त्यो परिधि मेटाउनका निम्ति  राजनीतिक कृपाकरहरू र कानुनी उच्च अधिकारीहरूको होस्टेहैँसेमा यथाशक्ति दाउपेच  हुने गर्दछन् । यसरी ठूला भ्रष्टाचारीहरूलाई पालन–पोषण र तिनका काण्ड –प्रकरणलाई ढाकछोप गर्ने घातक संयन्त्रले माथिल्लो तहमा हुने भ्रष्टाचारलाई बढवा दिइरहेको परिस्थिति छ । हालत यस्तो भए पनि  सत्तासिन महोदयहरू “भ्रष्टाचार नियन्त्रण हुँदै छ” भनी खुलेर भन्न सकिरहेका छन् ।
                        
    माथिल्ला दर्जामा पुगेपछि सरम पैदा गर्ने प्रणाली निष्क्रिय बन्दा रहेछन् । कोरोना भाइरसको विश्व महामारीको अति विषम  परिस्थितिमा परिहारको खोजी गर्दै  मुलुक लकडाउनमा अडेसिँदा आरम्भमै भ्रष्ट आत्माहरू मेडिकल सामग्री खरिददेखि राहत वितरण गर्दासम्म आफ्नो रङ देखाउनमा सलबलाउनु निर्लज्जताको पराकाष्ठा नै हो । यी निर्लज्जहरूलाई  यहाँ कसैको डर पनि छैन । कानुनका  अक्षरहरू हतियार बोकी आउने होइनन ्। छानबिन गरी दण्ड गर्ने निकायका अधिकारीहरू स्वयम् भ्रष्ट छन् ,नेताहरूकै पूजारी र सेवक छन् । यिनीहरू बाली सखाप पार्न  लागेका भैँसीहरू देख्दैनन् । त्यहाँको सेरोफेरोमा देखिने चराचुरुङ्गीलाई भने ताकी –ताकी फित्कौली हानिरहेका हुन्छन् । त्यसैले त एक – दुई  हजार घूस खाँदै गरेका खुद्रे  भ्रष्टाचारीहरू रङ्गेहात  पक्राउ परिरहन्छन् र रेडियो –टि .भि. का समाचार बनिरहेका हुन्छन्।

    हरेक निर्वाचनका बखत नेताहरूबाट देश र जनताका निम्ति इमानदारीपूर्वक भूमिका खेल्ने ठूलठूला भाषण गरी भोट मागिन्छ । विजयपश्चात् पदभार ग्रहण गर्दा कर्तव्य–परायणताको पाठ पढ्दै शपथ पनि खाइन्छ । पार्टी भक्तिको नशाले मदहोस भएका कारण बाघले जङ्गलमा हिंसाको विरुद्धमा आफूलाई गतिशील राख्ने कुरा गर्दा त्यो बाघ स्वयम् हिंस्रक हो भन्ने सत्य हाम्रो दृष्टिमा धमिलो बनिरहेको हुन्छ । वास्तवमा हाम्रो यही मतवालापन राजनीतिक भ्रष्टहरूको भर पर्दो सिँढी बनिरहेको छ ।

    हामी धनी भएर पनि विश्वसमक्ष गरिब छौँ । वीर भएर पनि वीरताबाट टाढिएका छौँ । हिजो अङ्ग्रेजका गुलाम भएकाहरू आज हामीलाई हाँक दिइरहेका छन् । निरीह प्राणीको  अवतार बनेकाले होला हामीले तिनीहरूका कायरतापूर्ण चेष्टालाई उचाइबाट प्रतिकार गर्न सकिरहेका छैनौँ । यस्तो अवस्था उपस्थित हुनुको जड मुलुकमा युगाँैदेखि विकराल बन्दै आएको भ्रष्टाचार र यसका रङ्ग र तरङ्गहरू नै हुन् । राष्ट्रका सबै पक्ष उदासीन तुल्याउने यो विषाक्त रसायनलाई निस्तेज पार्न ठोस कदम अहिलेसम्म नचालिँदा यो अकिञ्चन प्राणीको मनमा देश  कुरूप  भविष्यतर्फ  उन्मुख भइरहेको प्रतीत हुन्छ । अर्कातिर “इदं भ्रष्टम् ,उदं भ्रष्टम्” को अटुट प्रकोपका कारणले उल्लिखित कदम कसले चाल्ने ? कसरी चाल्ने ?कुन नियमले चाल्ने ? जस्ता अनगिन्ती प्रश्नहरू पनि मन–मथिङ्गलमा बयेली खेल्ने गर्छन् । प्रतिकूलताले जति प्रश्न जागृत गराए पनि भ्रष्टाचारलाई बढार्न अब विद्यमान व्यवस्थाभित्र प्रभावशाली उपायको खोजी गरिनु जरुरी देखिन्छ । नत्र माथि उल्लेख गरिएको कुरूप भविष्य त्यति टाढा छैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast