बिहिवार, असोज १५, २०७७
    शेयर बजार

    अनलाइनमार्फत दुई महिनामा ४० हजार सेयर लगानीकर्ता थपिए

    आईतवार, १४ भाद्र २०७७, आहाखबर

    काठमाडौं, १४ भदाै । कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनयता सेयर बजार (दोस्रो बजार) मा अनलाइन काराेबारका लागि करिब ४० हजार लगानीकर्ता थपिएका छन् ।

    लकडाउनले सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको हो ।

    गत सातादेखि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेको छ । यस अवधिमा सेयर बजार खुला छ । त्यसअघिको लकडाउनका बेला भने सेयर बजार बन्द थियो । नेप्सेको तथ्यांकअनुसार गत बिहीबारसम्म ६४ हजार ६ सय १६ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो पाँच महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ सय ५० प्रतिशतले बढेको देखाउँछ ।

    सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब ३ महिना बजार बन्द नै रह्यो । त्यस अवधिमा ‘युजर नेम र पासवर्ड’ लिने/वितरण गर्ने काम पनि भएन । यसकारण अनलाइन कारोबारका लागि अहिले बजारमा थपिएका करिब ४० हजार लगानीकर्ताले दुई महिनाभित्रै ‘युजर नेम र पासवर्ड’ लिएका हुन् ।

    ‘लकडाउनले हिँडडुलमा अवरोध र जोखिम भएपछि अनलाइन कारोबार गर्ने बढे,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘तुलनात्मक रूपमा अनलाइन कारोबार सजिलो र झन्झटरहित पनि छ ।’ लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र सञ्चालन हुन नसकेकाले धेरै उद्योगी व्यवसायीले पनि सेयर बजारमा लगानी बढाएको उनले बताए । ‘यो अवधिमा धेरै उद्योगी व्यवसायीले लगइन लिनुभएको छ,’ उनले भने, ‘अन्य क्षेत्र बन्द भएपछि उनीहरू यता आएको हुनुपर्छ ।’

    पुँजी बजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर, दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता ३ लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ । नेप्सेका अनुसार गत बिहीबारसम्म दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ताको संख्या करिब २ लाख ८८ हजार छ । गत चैत ६ मा यस्तो संख्या २ लाख ३१ हजार थियो । यो नियामक निकायको निर्देशनअनुसार हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरेको लगानीकर्ता संख्या हो । तीमध्ये पनि दैनिक रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या कम छ । ‘आर्थिक वर्ष ०७६/७७ मा सक्रिय लगानीकर्ता संख्या करिब ४३ हजार मात्र थियो,’ साउदले भने ।

    पछिल्लो समय नेप्सेले धितोपत्र ब्रोकरहरूलाई अनलाइनमार्फत (कनेक्ट आईपीएस) भुक्तानी गर्न भनेको छ । ब्रोकरहरूले पनि सेयर खरिदमा भुक्तानी गर्दा अनिवार्य रूपमा विद्युतीय माध्यम (कनेक्ट आईपीएस) बाट गर्न उसको आग्रह छ । राष्ट्र बैंकले पनि सेयर कारोबारका लागि कनेक्ट आईपीएसमा दैनिक र मासिक कारोबारको सीमा नलाग्ने नीतिगत व्यवस्था गरेको छ । उल्लिखित व्यवस्थाले सेयर कारोबारमा विद्युतीय माध्यमको भुक्तानी बढेको बताइएको छ ।

    लकडाउनयता नेप्सेको कारोबार सिस्टममा (टीएमएस) मार्फत करिब ५ अर्ब २९ करोड रुपैयाँ अनलाइन भुक्तानी भइसकेको नेप्से वरिष्ठ प्रबन्धक निरन्जन फुयालले बताए । यो टीएमएसमार्फत नेपाल क्लियरिङ हाउस, प्रभु बैंक र ग्लोबल आईएमई बैंकमार्फत भएको भुक्तानी हो । ‘यस्तो कारोबार बढ्दो छ,’ उनले भने, ‘टीएमएसभन्दा बाहिर ब्रोकर र लगानीकर्ताले पनि कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दै आएका छन् ।’ त्यसलाई पनि जोड्दा विद्युतीय माध्यमबाट भएको कारोबारबापतको रकम भुक्तानी धेरै हुने उनले बताए ।

    यही क्रममा नेप्सेले अनलाइनबाट केवाईसी अद्यावधिक गर्न, अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिन सुविधा दिएको छ । ‘लगानीकर्ताले अनलाइन कारोबार गर्न युजरनेम र पासवर्ड लिने तथा केवाईसीलाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरूको टीएमएस लिंकमा अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ ,’ नेप्सेले विज्ञप्तिमा भनेको छ । यसबाट बढीभन्दा बढी प्रयोगकर्ता अनलाइन कारोबारमा सहभागी हुन सक्ने नेप्सेले दाबी गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast