काठमाडौंमा अत्यावश्यक वस्तुको खरिद बिक्रीका लागि समयसीमा निर्धारण, कुन समय के सेवा ?

काठमाडौंमा अत्यावश्यक वस्तुको खरिद बिक्रीका लागि समयसीमा निर्धारण, कुन समय के सेवा ?

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरेको छ। प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निर्धारण गरेको हो। कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निशेधाज्ञा जारी गरिएको छ।

आइतबार सूचना जारी गरी अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ। बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने विज्ञप्तिमा उल्लेख छ। 

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा 'अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने' उल्लेख छ। त्यसरी अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ।