एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा  सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।

गत चैत ६ का लागि निर्धारित एसईई परीक्षा कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो। परीक्षा नहुने भएपछि विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो। 

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ। खकुरेलले भने, ‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आयो। केही अयोग्य भए।’ विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए। 

विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो। परीक्षा सम्बन्धि अन्य विवरण राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा राखिने बोर्डले जनाएको छ।