कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई नै रेलमार्गको ठेक्का दिने तयारी

कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई नै रेलमार्गको ठेक्का दिने तयारी

काठमाडौं, ३२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको ठेकेदार कम्पनीलाई नै रेलमार्गको ठेक्का दिने तयारी भएकाे छ । 

रेल विभागले पूर्वपश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलवेको १०६ किलोमिटर ट्रयाक–बेड निर्माणका लागि आह्वान गरेको टेन्डरमा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनलाई समेत ठेक्का दिनेगरी तयारी अघि बढाइएको हो ।

उक्त कम्पनीलाई भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियाे भने  सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा समेत राखेको थियाे।

रेल विभागले सो खण्डको रेलमार्ग निर्माणका गत असार १३ र १७ गते खोलेको ५४ वटा टेन्डरका लागि बोलपत्र पेश गर्ने मिति सकिएको छ । हाल सो टेन्डर प्रक्रियामा १ सय २० भन्दा बढी निर्माण कम्पनीहरुले आवेदन दिएका छन् । अहिले पेश भएका बोलपत्रहरुको मूल्याङ्कन काम भइरहेको रेल विभागले जनाएको छ । सोही प्रक्रियामा राप्रपाका नेता एवम् पूर्वमन्त्री समेत रहेका पाण्डेको सो कम्पनीले पनि सहभागिता जनाएको हो ।

भ्रष्टाचार आरोपमा मुद्दा चलेको वा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कुनै पनि कम्पनी मुद्दाको छिनोफानो नहुञ्जेल वा कालोसूचीबाट नहटेसम्म कुनै पनि ठेक्का प्रक्रियामा सहभागिता जनाउन नपाउनुपर्ने हो । सार्वजनिक खरिद नियमावलीको सातौँ संशोधनले सोही आशयसहितको व्यवस्था थप गरेको छ ।

तर, कानूनी ‘लुपहोल’लाई समातेर सो निर्माण कम्पनीलाई ठेक्का दिने तयारी गरेको विभाग स्रोतले जनाएको छ । कालिका कन्स्ट्रक्सनको मुद्दाबारे रेल विभागले नेपाल सरकारलाई लेखी पठाए पनि त्यसले मूल्याङ्कन वा छनौट प्रक्रिया प्रभावित हुँदैन । सरकारलाई त्यस्तो व्यहोरा लेखेर पठाउने र छनौट गर्ने अवधि निकै कम राखेर सो कम्पनीलाई समेत यस प्रक्रियामा समावेश गर्ने तयारी गरिएको हो ।

रेलमार्ग निर्माणको यो ठेक्कामा १८ वटा कम्पनी मात्रै प्रतिस्पर्धाका लागि प्राविधिक मूल्याङ्कनबाट पास हुने निश्चित छ । यस्तो ठेक्कामा निर्माण व्यवसायीले दुईवटा प्रस्ताव पेश गर्छन्, प्राविधिक र आर्थिक । प्राविधिक प्रस्तावमा छनौट भएका .कम्पनीको मात्रै आर्थिक प्रस्ताव खोलिनेछ । यसो हुँदा कालिकासहित १८ वटा कम्पनी मात्रै यसका लागि योग्य हुने देखिएका हुन् ।