सोमबार, असोज १२, २०७७
    राज्य-समाज

    लिदी पहिरोः बेपत्तामध्ये ११ को शव फेला

    शुक्रबार, ३० श्रावन २०७७, रासस.

    चौतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ। मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन्। 

    मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ। पहिराले २७ घर पुरेको थियो। 

    घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो। घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ। गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ।

    यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिए। राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ। त्यसअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिई फर्किएका थिए। 

    लिदिमा राहत

    ३८ जनालाई पुर्ने गरी पहिरो आएको जुगल गाउँपालिका –२ लिदीमा राहत पुर्‍याइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालका लागि लिदिवासीमाझ राहत सामग्री पुर्‍याएको हो। जिल्ला विपत् व्यवस्थापन समितिले लिदीका पहिरोपिडितलाई विभिन्न राहत सामग्री प्रदान गरेको छ। 

    ती सामग्रीमा नीलो चिनियाँ पाल ४० थान, भाँडावर्तन, मिनी ब्ल्यांकेट, पहेँलो त्रिपाल, म्याट्रेस, बाल्टिन ढकन सहित ४० थान, प्लाष्टिक जग ४० थान, ग्यालिन ६० थान र पञ्जा ४० थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast