मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    आज पनि ओली-प्रचण्डबीच छलफल हुने, पाउला त नेकपाले निकास ?

    शुक्रबार, ३० श्रावन २०७७, आहाखबर

    काठमाडौं, ३० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन विहिबार नौ दिनपछि पुनः छलफल भएको छ । साउन २० गते यता संवादहीनता देखिएकोमा विहिबार उनीहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीच अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । बैठकमा अन्य सहयोगी नेता नराखी उनीहरुबीच मात्रै छलफल भएको हो । यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए । सो भेटवार्तामा उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आकलन गरिएको छ ।

    गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद छ । साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावना बमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो ।

    अध्यक्षद्वयबीच आज पनि वार्ता हुने बताइएको छ । विहिबारको वार्ता सकारात्मक उन्मुख भएको बताइएको छ । आज यसलाई थप उचाईमा पुर्याउन दुई अध्यक्षबीच वार्ता हुन लागेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast