मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    ओली–प्रचण्डबीच छलफलः विवाद समाधानतर्फ

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज पुनः छलफल भएको छ। आन्तरिक विवाद मिलाउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच नौ दिनपछि पुनः छलफल भएको हो।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज अपराह्न अध्यक्षद्वयबीच करीब चार घण्टा भएको छलफल भएको छ। यही साउन २० गतेयता संवादहीनता देखिएकामा आज उनीहरुबीच छलफल भएको र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको छ। 

    आज अन्य सहयोगी नेता नराखी उनीहरुबीच मात्रै छलफल भएको हो। यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए। सो भेटवार्तामा उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आकलन गरिएको छ। 

    गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद छ। यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast