मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    ओली-प्रचण्ड निकासको नजिक पुगेको दाबी, १० दिनपछि भयाे भेट

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २९ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू निकासको नजिक पुगेको दुवै पक्षका नेताहरूले बताएका छन् । पार्टीभित्र विवाद सघन बनिरहेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादको सिलसिला टुटेको थियो । उनीहरूबीच बिहीबार (आज) संवादको सम्भावना रहेको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् ।

    “आज उहाँहरूबीच वार्तामा बस्‍ने जानकारी पाएको छु । पार्टी विभाजन गर्नुहुन्‍न, सहमति कायम राखेर जानुपर्छ भन्‍ने कुरामा दुवै अध्यक्ष जिम्मेवार देखिनुभएको छ,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने ।

    नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि आज वार्ताको सम्भावना रहेको बताए र नेम्वाङ ओली-प्रचण्डको पछिल्लो संवादको साक्षीसमेत हुन् ।

    ओली-प्रचण्डबीच साउन २० गतेयता वार्ता, संवाद हुन सकेको छैन । तर, दुवै पक्षका दोस्रो तहका नेताहरू सहमतिको साझा र मिलनविन्दु खोज्‍न जुटिराखेको ओलीनिकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट विष्णु पौडेल, शङ्‍कर पोखरेल, नेता नेम्वाङलगायत नेताहरू सक्रिय थिए । पूर्वमाओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू सक्रिय थिए ।

    दुवैले अहिलेको समस्याको निकास दिन विभिन्‍न विकल्प तयार पारेको र तिनै विकल्पमा आधारित भएर सहमति खोजिने एक नेताले जानकारी दिए ।

    “विभिन्‍न तहमा छलफलहरू भइरहेका छन् । प्रत्यक्ष भेट, संवाद नभए पनि दुवै अध्यक्षले आफ्ना मान्छेमार्फत कुराकानी गरिनै रहनुभएको छ । छलफल सकारात्मक बन्दै गएको सङ्केत उहाँहरूले दिन थाल्नुभएको छ । एक-दुई दिनमै क्लाइमेक्स निस्कन्छ,” ओलीनिकट स्रोत भन्छ ।

    बुधबार एपी वान टेलिभिजनसँगका अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रस्तोता भुषण दाहालसँग कुरा गर्दै पाँच दिनभित्र निकास निस्कने दाबी गरेका थिए । प्रधानमन्त्रीले दिन गन्‍न पनि अनुरोध गरेका थिए ।

    प्रचण्डनिकट नेताका अनुसार पछिल्लो संवाद, कुराकानी मिलन विन्दुतिर अघि बढेको स्वीकार्छन् । तर, कुन विन्दुमा सहमति हुन्छ भनेर अहिले नै निर्क्योल गर्न नसकिए पनि प्रधानमन्त्रीले तोकेको साँधसीमा भित्रै सहमति हुनेमा उनीहरू पनि आशावादी छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast