सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    चितवनमा थप एक चिकित्सकसहित ६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    चितवन, २९ साउन । चितवनमा एक चिकित्सक र सशस्त्र प्रहरीगरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार ६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

    भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा  गरिएको परीक्षणमा राप्ती नगरपालिका–६ मा रहेको ३ नम्बर बाहिनी विपद् व्यवस्थापन गण भण्डारामा कार्यरत ६ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए।

    उनका अनुसार बागमती र छिमेकी प्रदेशका सिमानामा सुरक्षामा खटिएर फर्किएका ६ जनालाई संक्रमण पुष्टि भएको हो। संक्रमितहरू अहिले गणमै रहेका छन्।

    उनीहरूलाई सोही गणभित्रै आइसोलेसनमा राखिएको न्यौपानेले जानकारी दिए।

    यसअघि मंगलबार गरिएको परीक्षणमा सोही गणमा रहेका २ जनालाई पनि संक्रमण पुष्टि भएको थियो। उनीहरूलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ।

    बुधबार ६ जनालाई पुष्टि भएसँगै चितवनमा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ८ पुगेको छ।

    रत्ननगर अस्पतालमा स्वाब लिइएका अर्का संक्रमित सोही अस्पतालका चिकित्सक हुन्। चितवनमा कोरोना पोजेटिभ देखिने उनी चौथो चिकित्सक हुन्।

    बुधबार २०३ वटा नमुना परिक्षण गरिएकोमा बाँकी १९६ जनाको भने रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन्।

    यस अघि मंगलबार मात्रै चितवनमा २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो। चितवनमा संक्रमितको संख्या १ सय ५२ पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast