शनिबार, असोज १०, २०७७
    सावधान

    अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समै गयो कोरोना संक्रमितको ज्यान

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    सप्तरी, २८ साउन । सप्तरीमा एक कोरोना भाइरस संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ । सप्तरीमा थप एक कोरोनाको उपचार नपाई ज्यान गएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज–६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढे लगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

    उनी मुटुसम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

    यसअघि जिल्लाको रुपनी गाउँपालिका–५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज–६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोनाबाट ८४ जनाको ज्यान गइसकेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast