सोमबार, असोज १२, २०७७
    धर्म-संस्कृति

    जनकपुरको माटो र चाँदीका इँटा बोकेर राम मन्दिर शिलान्यासका लागि नेपाली टोली अयोध्या प्रस्थान

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    जनकपुरधाम, २१ साउन। भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ ।

    जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

    अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको मन्दिर शिलान्यासका लागि रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताए । एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको उनले बताए ।

    भगवान रामको मन्दिर निर्माणका लागि हुने भूमिपूजामा सहभागी हुन महन्त दासलाई अयोध्याबाट निम्तो आएको थियो । दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको थियो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समयअनुसार बुधबार दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम छ ।

    गत वर्ष कात्तिक महिनामा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गा राम मन्दिरको भएको फैसला गरेको थियो । मुस्लिम समुदायले सो जग्गा बाबरी मस्जिदको हुनुपर्ने दाबी गर्दै आएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast