शनिबार, असोज १०, २०७७
    लाइफस्टाइल

    विभिन्न स्थानमा भारी वर्षा: १० जिल्लामा उच्च सावधानी अपनाउन माैसमविद्काे आग्रह

    सोमबार, १९ श्रावन २०७७, आहाखबर

    काठमाण्डौ, १९ साउन।  अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

    यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ । महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह गरेको छ । 

    सिन्धुपाल्चोकको बलेफी जलाधार क्षेत्रमा ठूलो पानी परेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

    मेलम्ची, इन्द्रावती, बलेफीका केही साना सहायक नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    यस्तै आज पाँचथर, इलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, धादिङ, गोरखा, नवलपरासी, कपिलवस्तु र आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी परेका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन  पनि महाशाखाले आग्रह गरेको छ ।

    भोलिसम्म नै देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast