सोमबार, श्रावन १९, २०७७
    ओएमजी Omg!

    भारतमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नागरिक नभएको पुष्टि

    शनिबार, ३ श्रावन २०७७, आहाखबर

    काठमाडौ। भारतको बनारसमा केही दिनअघि जवरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ। उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले एक हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो।

    वनारसका एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक हुन्। साडीको पसलको काम गर्ने धर्मेन्द्र सिंहले एक हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छ। लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि एक हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरुबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि बनारसमा विश्व हिन्दु सेना नामक समूहले नेपाली नागरिकको कपाल जर्बजस्ती मुण्डन गरेको भन्दै एक भिडियो भाइरल बनेको थियो। तर अनुसन्धानपछि उक्त भिडियोमा पीडितका रूपमा देखाइएको युवा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडियो बनाएको खुलेको छ।

    भिडियोमा देखिएअनुसार केही व्यक्तिले नेपाली भनिएका एक युवाको कपाल मुण्डन गरेर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ। हालै प्रधानमन्त्री ओलीले भगवान राम नेपालमा जन्मिएको र उनको जन्म स्थान ठोरी नजिकै भएको बताएका थिए। ओलीले भारतले नक्कली अयोध्या खडा गरेको बताएपछि भारतीय नागरिकहरु उनीसँग रुष्ट बनेका छन्। नेपालमा पनि ओलीको आलोचना भएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast